धनुषामा गृहमन्त्री सुधन गुरुङ र हिन्दू सम्राट सेना नेपालबीच आन्दोलनसँग सम्बन्धित मागका विषयमा मौखिक समझदारी भएपछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको छ। जनकपुरधाममा आइतबार भएको करिब डेढ घण्टाको वार्तापछि सरकारी प्रतिनिधिमण्डल र हिन्दू सम्राट सेना नेपालका पदाधिकारीबीच समझदारी जुटेको हो।
वार्तामा गृहमन्त्री गुरुङको नेतृत्वमा सरकारी टोली सहभागी भएको थियो भने हिन्दू सम्राट सेना नेपालका अध्यक्ष राजेश यादव, उपाध्यक्ष कृष्ण सनातनीलगायत पदाधिकारी सहभागी थिए। वार्तापछि सेनाले बन्दसहितका सबै विरोध कार्यक्रम फिर्ता लिएको जनाएको छ।



हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीका अनुसार यसअघि सरकारलाई बुझाइएको १३ बुँदे मागमा थप ६ बुँदा समेटेर नयाँ प्रस्ताव सरकारी पक्षलाई हस्तान्तरण गरिएको छ। ती मागप्रति सरकार सकारात्मक रहेको र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउन उपयुक्त समयमा समिति गठन गर्ने समझदारी भएको उनले जानकारी दिए।
वार्तामा धर्मका आधारमा कुनै पनि आयोग गठन नगर्ने, मदरसा तथा मस्जिदमा हुने फन्डिङको विषय, धार्मिक स्थलमा प्रयोग हुने लाउडस्पिकर तथा अन्य धार्मिक गतिविधिको व्यवस्थापनलगायत विषयमा छलफल भएको बताइएको छ।
हिन्दू सम्राट सेना नेपालका अध्यक्ष राजेश यादवले सरकारी पक्षबाट माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि आन्दोलन स्थगित गरिएको बताए। उनले माग कार्यान्वयनका लागि सरकारसँग निरन्तर समन्वय गरिने जानकारी दिए।
यसअघि हिन्दू सम्राट सेना नेपालले आफ्ना विभिन्न माग सम्बोधन गर्न दबाब दिँदै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो। पछिल्लो वार्तापछि तत्कालका लागि आन्दोलन रोकिएको भए पनि माग कार्यान्वयनको अवस्थाका आधारमा आगामी निर्णय लिइने जनाइएको छ।



