काठमाडौं । पछिल्लो समय सार्वजनिक बहसको केन्द्रमा रहेका गृहमन्त्री सुदन गुरुङविरुद्ध उठेका गम्भीर आरोपलाई लिएर नागरिकस्तरमा दबाब बढ्दै गएको छ । यसै सन्दर्भमा जेनजी मुभमेन्ट नेपालले औपचारिक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी कानुनी दायरामा ल्याउन सरकारसँग कडा माग गरेको छ ।
मुभमेन्टका प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा मन्त्री गुरुङमाथि लागेका आरोपहरूलाई सामान्य रूपमा लिन नसकिने उल्लेख गर्दै निष्पक्ष, स्वतन्त्र र दबाबमुक्त छानबिन अपरिहार्य रहेको जनाइएको छ । ‘पदमै बहाल रहँदै अनुसन्धान हुनु न्याय प्रक्रियाको आधारभूत मान्यताविपरीत हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यसले अनुसन्धानको विश्वसनीयता र पारदर्शितामाथि गम्भीर प्रश्न खडा गर्छ ।’



विज्ञप्तिमा वर्तमान सरकारको निर्णय क्षमतामाथि पनि प्रश्न उठाइएको छ । मन्त्री नियुक्ति जस्तो संवेदनशील विषयमा गम्भीर राजनीतिक तथा नैतिक जिम्मेवारी रहने उल्लेख गर्दै नेतृत्वले परिपक्वता, दूरदृष्टि र जवाफदेहिता प्रदर्शन गर्नुपर्नेमा जोड दिइएको छ । ‘हचुवाको भरमा मन्त्री बनाउने र आवश्यक पर्दा हटाउने प्रवृत्ति अब अस्वीकार्य भइसकेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
जेनजी मुभमेन्टले ७६ जनाको बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनको स्मरण गर्दै त्यसको मूल्य र भावना जोगाउन राज्य संयन्त्र जिम्मेवार हुनुपर्ने धारणा राखेको छ । आन्दोलनले स्पष्ट रूपमा भनेको छ ‘जनताको रगत र बलिदानमाथि सस्तो राजनीति गर्ने अधिकार कसैलाई छैन ।’
साथै, सुशासन, पारदर्शिता र कानुनी राज्यको अवधारणालाई कमजोर पार्ने कुनै पनि गतिविधिप्रति शून्य सहनशीलता अपनाउनुपर्ने मुभमेन्टको धारणा छ । पद, शक्ति वा राजनीतिक संरक्षणका आधारमा कसैलाई पनि उन्मुक्ति दिन नहुने चेतावनी दिँदै दोषी प्रमाणित भएमा जोसुकै भए पनि कानुनी कठघरामा उभ्याइनुपर्नेमा जोड दिइएको छ ।
यस घटनाले पुनः एकपटक राज्यसत्ताको पारदर्शिता, राजनीतिक नैतिकता र जवाफदेहितामाथि गम्भीर बहसलाई सतहमा ल्याएको छ ।



