सुर्खेत — गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने भन्दै पूर्व राजा ज्ञानेन्द्र शाहलाई नहौसिन चेतावनी दिएका छन्। आइतबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले जनताले आन्दोलनमार्फत फालिसकेको राजसंस्थालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले पुनः फर्काएर ल्याउँछन् भनेर कसैले पनि विश्वास गर्न नहुने स्पष्ट पारे।

उनले केही मानिसहरू र पूर्वराजाले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर भ्रम फैलाइरहेको र त्यस भ्रमबाट राजा हौसिन आवश्यक नरहेको बताए। आन्दोलनबाट फालिएको राजाले नेपालमै बसेर सबै स्वतन्त्रता उपभोग गरेको विश्व इतिहासमा विरलै देखिने उल्लेख गर्दै उनले यो लोकतन्त्रको सुन्दरता भएको बताए।

गृहमन्त्री लेखकका अनुसार नेपालको लोकतन्त्र संयमित, उदार, परिस्कृत र सहिष्णु छ, जसले जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गर्न सकेका छन्। उनले यसलाई लोकतन्त्रको कमजोरीका रूपमा कसैले नलिन चेतावनी पनि दिए।

विपद् प्रतिकार्यमा २४ सै घण्टा अलर्ट हुनुपर्ने निर्देशन

यसैक्रममा, गृहमन्त्री लेखकले विपद प्रतिकार्यका लागि २४ सैं घण्टा तयारी अवस्थामा रहन सबै निकायलाई निर्देशन दिए। कर्णाली प्रदेश सरकारलाई आपतकालिन गोदाम घर हस्तान्तरण कार्यक्रममा बोल्दै उनले विपद्को जोखिम हरेक मिनेटमा हुने हुँदा सतर्क रहन आग्रह गरे।गृहमन्त्री लेखकका अनुसार खोज, उद्दार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्दारकर्मीहरू तयार छन्। सुरक्षा निकाय र प्रतिकार्यमा क्रियाशील संस्थाहरूको व्यवस्थित परिचालन गर्न आपतकालिन गोदाम घरको भूमिका प्रभावकारी हुने छ।

उनले आपतकालीन गोदामघर सञ्चालन सम्बन्धी कार्यविधि निर्माण गरी बाँकी प्रदेशहरूमा पनि यस्ता गोदामघर प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय