गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको र हुन नसक्ने दाबी गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै मन्त्री लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएका हुन्।

आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै गृहमन्त्री लेखकले खेद प्रकट गरे। मन्त्री लेखकले अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि बताए। उनले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गरे।

‘अख्तियार दुरुपयोग अनुसन्धानले आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनि गरिएको प्रचार प्रसार समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन। उक्त कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा सम्मानित सदनमा जानकारी गराउन चाहन्छु,’ लेखकले भने, ‘मेरा विरुद्धमा नियोजित ढंगले, षड्यन्त्रमूलक ढंगले, राजनीतिक रुपमा आक्रमण गर्ने प्रयत्न भएको छ। जसको म यो सम्मानित सदनबाट खेद प्रकट गर्न चाहान्छु। र म साथिहरुलाई आग्रह गर्न चाहन्छु–संवैधानिक निकायले छानबिन गरिराखेको विषयलाई कुनैपनि मन्त्रीसँग जोड्ने वा सरकारसँग जोड्ने र जवाफ दिने हो भने हिजो कति मन्त्रीहरूले जवाफ दिनुभएको थियो। त्यसको ताकत साथीहरूसँग छ ?’

सभाको बैठकमा रास्वपा र राप्रपाको विरोध र नाराबाजीकै बीचमा मन्त्री लेखकले आफ्नो धारणा राखेका थिए। माओवादी संसदको गतिरोध अन्त्य गर्न तयार भएपनि रास्वपा र राप्रपा अझै सहमत छैनन्। उनीहरूले भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेका छन्। दुई दलको विरोधका बीच सभामुख देवराज घिमिरेले सभालाई अगाडि बढाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय