काठमाडौं । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्राप्त गरेपछि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने कारबाहीको तयारीमा जुट्नुभएको छ । उहाँले नेपाल प्रहरीको उच्च तहमा व्यापक जिम्मेवारी हेरफेर गर्ने तयारीमा हुनुहुन्छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्व फेरिने लगभग पक्का भएको छ । त्यस ठाउँमा कसलाई लैजाने भन्ने विषयमा लामिछानेले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसँग विभिन्न चरणमा छलफल गर्नुभएको छ । सीआईबी निर्देशक किरण बज्राचार्यका पालामा सुन तस्करीका केही अभियुक्तलाई अनुसन्धानको दायरामै नल्याएको, केहीलाई समातेर पनि बिना कारबाही छाडेको र निष्पक्षता पनि कायम गर्न नसकेकाले विभागीय सजायका लागि जाँचबुझ आयोगले प्रतिवेदन दिएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करीको छानबिनका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) बाट गम्भीर त्रुटि भएको निष्कर्ष निकालेसँगै उहाँले सुन तस्करी प्रकरण पुनः छानबिन गर्न लाग्नुभएको छ । गृहमन्त्रीले आयोगको प्रतिवेदन विहान प्रधानमन्त्रीलाई बुझाउनु भएको थियो । प्रधानमन्त्रीले प्रतिवेदन बुझ्दै सुन तस्करी प्रकरणमा मुछिएका जोसुकैलाई पनि कारबाहीको दायरामा ल्याउन गृहमन्त्रीलाई निर्देशन दिनुभएको थियो । सुन तस्करी प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन उच्चस्तरीय आयोगले सिफारिस गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठित आयोगले बुझाएको प्रतिवदेनमा ७ जनालाई मुद्दा चलाउन सिफारिस गरिएको छ । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साझेदार एवं साथी सुबु केसीलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन उच्चस्तरीय छानबिन समितिले मुद्दा चलाउन सिफारिस गरेको छ । सुन तस्करी प्रकरणमा जोडिने तथ्य फेला परेको भन्दै आयोगले उहाँविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । दावा छिरिङको मोबाइल जाँचमा २० हजार अमेरिकी डलर सुबु प्रताप केसीको अमेरिकास्थित वेल्स फार्गो बैंकमा जम्मा गरेको उल्लेख भएको विवरण छ । तर, सीआईबीले त्यसतर्फ गम्भीर अनुसन्धान गरेको फेला नपरेको आयोगको निष्कर्ष छ । सुन प्रकरणमा मुछिएकाहरूलाई उन्मुक्ति दिनेहरूमाथि कारबाही गर्ने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार बताउनु भएको थियो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणका एक जना आरोपीलाई कार्यालयमा उपस्थित गराएर समेत छाडेको पाइएको छ । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले आरोपी जीवन चलाउनेलाई ब्यूरोमा उपस्थित गराएर समेत छाडेको फेला पारेको हो । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, तत्कालीन समयमा ब्यूरोमा कार्यरत एसपी सञ्जयसिंह थापाकै कोठामा ल्याएर चलाउनेको बयान कागज गराइएको थियो । त्यसपछि उहाँलाई छाडिएको थियो । यसमा डीएसपी रुगम कुँवलाई पनि आयोगले जिम्मेवार मानेको छ । राजश्व अनुसन्धान विभागका पूर्वमहानिर्देशक झलकराम अधिकारीलाई कारबाही गर्न सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सिफारिस गरेको छ । सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावा छिरिङसँग उहाँको सम्बन्ध देखिएपछि कारबाही गर्न सिफारिस गरेको हो । दावा र अधिकारीबीच वी च्याटमा नियमित कुराकानी हुने गरेको फेला परेको थियो । तर, ब्यूरोले गम्भीरतापूर्वक छानबिन नै गरेन । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित आयोगले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले सुन तस्करीको छानबिनमा गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ ।



मुद्दा चलाउनुपर्नेलाई समेत जोगाएको आरोपमा आयोगले ब्यूरोकी प्रमुख एआईजी किरण बज्राचार्यलाई समेत कारबाहीको सिफारिस गरेको हो ।योसँगै सुनसम्बन्धी अनुसन्धान गरेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ । उहाँहरुले सुन तस्करीमा जोडिएका एक मुख्य व्यक्ति जीवन चलाउनेलाई भगाएको आरोप छ । ब्यूरोमा उपस्थित गराएर समेत छाडेको उहाँहरुको माथि आरोप छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आयोगले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मा आफ्नो भएको बताउनु भएको छ । उहाँले यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग समेत ब्रिफिङ गरेका छन् । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख एवं माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई मुद्दा चलाउन सिफारिस गरेको छ । गृह मन्त्रालय उच्च स्रोतका अनुसार, पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । महरालाई आयोगले बयान समेत लिएको थियो । उहाँका छोरा राहुल महरा भेपमार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सुन तस्करीबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सरकारी वकिल र भन्सारका कर्मचारीलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायाधीवक्ता जनकराज घिमिरे र वासुदेव शर्मालाई कारबाही गर्न सिफारिस गरेको छ । सुन तस्करी प्रकरणमा सीआईबीले गरेको त्रुटिमा अभियोगकर्ताको पनि जिम्मेवारी हुने भएको भन्दै आयोगले दुई जनालाई कारबाहीलाई सिफारिस गरेको हो ।घिमिरे अहिले सरुवा भएर उच्च सरकारी वकिलको कार्यालय पाटनमा छन् । आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख अरुण पोखरेल र भन्सार अधिकृत मुक्ति श्रेष्ठलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । भन्सार जाँज पार गरेको ६० किलो सुन राजश्व अनुसन्धान विभागले २ साउनमा बरामद गरेको थियो । त्यसबेला प्रमुख भन्सार प्रशासक पोखरेल विदामा थिए । तर, नैतिक जिम्मेवारी हुने भन्दै आयोगले कारबाहीका लागि सिफारिस गरेको छ ।



