ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आगामी २१ फागुनको चुनावलाई लक्षित गर्दै राजनीतिक सक्रियता ह्वात्तै बढाएका छन् । उनको यो सक्रियता भावी प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा सँग जोडिएको विश्लेषण गरिएको छ ।
हालै, घिसिङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँगको भेटवार्ताको तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि नयाँ शक्तिको ध्रुवीकरणले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ ।



मेयर बालेनसँगको तस्विरले दिएको दुई प्रमुख सन्देश
कुलमान घिसिङले शुक्रबार राति १० बजे मेयर बालेनसँग भेट गरे पनि आइतबार राति सो तस्विर सार्वजनिक गरेका थिए । यस कार्यले उनले मुख्यतया दुईवटा राजनीतिक सन्देश दिन चाहेको देखिन्छ:
1. ‘उज्यालो नेपाल’ लाई बालेनको साथ: घिसिङको पहलमा गठन भएको भनिएको उज्यालो नेपाल पार्टी लाई लोकप्रिय मेयर बालेन शाहको अप्रत्यक्ष साथ रहेको देखाउनु ।
2. रास्वपालाई टक्कर: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मात्रै नयाँ शक्तिको केन्द्र नभई आफ्नो नेतृत्वमा पनि बलियो विकल्प निर्माण भइरहेको सन्देश दिनु ।
रास्वपासँगको एकता प्रयास असफल
स्रोतका अनुसार, कुलमान घिसिङ आफ्नो पार्टी ‘उज्यालो नेपाल’ लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गराएर सोही जगमा चुनाव जिती प्रधानमन्त्री बन्ने दाउमा थिए ।
तर, रास्वपाभित्रै वरिष्ठ उपसभापति स्वर्णिम वाग्ले र कार्यवाहक सभापति डीपी अर्याल लगायतका केही नेताहरूको असहमतिपछि एकताको प्रयास टुंगिएको थियो । रास्वपा र विवेकशील साझा पार्टीले एकतासभा गरिरहेकै दिन कुलमानले बालेनसँग भेटेको तस्विर सार्वजनिक गर्नुलाई एकता प्रयास असफल भएपछिको ‘काउन्टर’ कदमका रूपमा राजनीतिक विश्लेषकहरूले हेरेका छन् ।
अन्य सहकार्यका प्रयास
यसबीचमा कुलमान घिसिङसँग सुमना श्रेष्ठको समूहले पनि सहकार्य गर्न खोजेको तर कुरा अन्तिम समयमा मिल्न नसकेको बताइएको छ । रास्वपाका नेता गणेश कार्की लगायतले कुलमान, सुमना र बालेनलाई एकै ठाउँमा ल्याउने प्रयास गरे पनि सफल हुन सकेन । कार्कीले यस विषयमा नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछाने सँग पनि पटक-पटक कुराकानी गरेको उल्लेख छ।
कुलमान घिसिङको यो सक्रियताले आगामी निर्वाचनमा नयाँ शक्तिको प्रतिस्पर्धा तीव्र हुने संकेत दिएको छ ।



