गोरखा — गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित सिरिङ्गे हिमालमा हिमपहिरो गएपछि उइनगुलुङ खोला थुनिँदा बूढीगण्डकी नदीमा विनाशकारी बाढी आएको छ। आइतबार बिहान आएको बाढीले विभिन्न स्थानमा पुल बगाउनुका साथै घर तथा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएको छ। प्रहरीका अनुसार बिहान करिब ५:३० बजे हिमपहिरोका कारण खोला थुनिएर बूढीगण्डकीमा बाढी आएको सूचना प्राप्त भएको थियो। बिहान ६:१५ बजेदेखि थुनिएको स्थानबाट पानी बग्न थालेपछि नदीमा ठूलो बाढी आएको हो।

बाढीले चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल र धार्चे गाउँपालिका–५ माछाखोलाबाट केरौँजा जोड्ने झोलुङ्गे पुल बगाएको छ। त्यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे मोटरेबल पुलमा पनि क्षति पुगेको छ। बाढीले सिर्दिबासमा स्थानीय रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ। चुमनुब्री गाउँपालिका–३ सल्लेरीमा निर्माणाधीन सहज ऊर्जा पावर हाउससहित आसपासका ७–८ वटा घर बगाएको प्रारम्भिक विवरण छ। सल्लेरीका थप २०–२२ घर जोखिममा रहेको प्रहरीले जनाएको छ।

धार्चे गाउँपालिका–५ माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा ५–७ वटा घर र ५–७ वटा टहरामा क्षति पुगेको छ। आरुघाट गाउँपालिका–३ सोतीमा पनि करिब १४–१५ वटा घरमा बाढी पसेको छ।बाढीले आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। पुलमा क्षति पुगेपछि उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

यसैबीच, धार्चे गाउँपालिका–१ यारुबगरमा फसेका स्थानीय तथा जलविद्युत् आयोजनामा कार्यरत १८ जना नेपाली नागरिकलाई नेपाली सेनाले सुरक्षित स्थानमा उद्धार गरेको छ।बाढीको अवस्थाबारे अनुगमन तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली परिचालन गरिएको छ। बिहान ८ बजे आरुघाट र ८:५५ बजे घ्यालचोकसम्म बाढी पुगेको विवरण प्राप्त भएको छ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रको समन्वयमा सुरक्षाकर्मीका थप टोली उद्धार तथा राहत कार्यका लागि आरुघाटतर्फ परिचालन गरिएको छ।बाढीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय