सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत गोलबजार नगरपालिका–४ स्थित मैनावती खोला आज पुनः दुर्घटनाको ‘हॉटस्पट’ बनेको छ। बिहान एकै पटक कार, हाइस र विङर एकआपसमा ठोकिँदा १० जना भन्दा बढी यात्रु घाइते भएका छन्। तर घटनापछि आधा घन्टा नबित्दै सोही स्थानमा अर्को कार र ट्रक एकआपसमा ठोकिँएपछि क्षेत्र झनै जोखिमयुक्त बनेको स्थानीयले बताएका छन्।



पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मधेश प्रदेश–१–००१ ख ०५६७ नम्बरको विङरले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेका बागमती प्रदेश–०१–००६ ख ७७३६ नम्बरको हाइस र बागमती प्रदेश–२० च ७८४१ नम्बरको कारलाई ठोक्किएको प्रहरीले जनाएको छ। यी तीनवटा सवारीमा सवार करिब एक दर्जन यात्रु घाइते भएका छन्।
घाइतेमध्ये अधिकांशको उपचार गोलबजारका विभिन्न स्थानीय अस्पताल तथा क्लिनिकमा भइरहेको छ। प्रहरीका अनुसार घाइतेहरूको नाम–थर र विस्तृत विवरण संकलन जारी छ भने घाइतेको संख्या पनि थप यकिन गर्ने कार्य भइरहेको जनाइएको छ।
दुर्घटनापछि करिब आधा घन्टासम्म राजमार्ग अवरुद्ध भए पनि प्रहरी र स्थानीयको सहयोगमा अहिले सडक सञ्चालनमा आइसकेको छ। सबै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच, स्थानीयले सो क्षेत्रमा चाइना कम्पनीले गर्दै आएको निर्माण कार्यमा लापरवाही र ट्राफिक प्रहरीको कमजोर सुरक्षा व्यवस्थाका कारण लगातार दुर्घटना भइरहेको आरोप लगाएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



