काठमाडौं –  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्वमा फेरि परिवर्तन हुने भएको छ। उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै रिक्त रहेको मन्त्रालयको जिम्मेवारी सुनसरी–४ बाट निर्वाचित सांसद दीपक साहलाई दिने तयारी गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालय स्रोतका अनुसार साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री शाहले यस विषयमा आवश्यक प्रक्रिया अघि बढाएका छन्। यसअघि प्रधानमन्त्री शाह नेतृत्वको सरकारमा उद्योग मन्त्रालयको जिम्मेवारी गौरीकुमारी यादवले सम्हाल्दै आएकी थिइन्। यादवले राजीनामा दिएपछि मन्त्रालयको नेतृत्व कसलाई दिने भन्ने विषयमा प्रधानमन्त्री शाहले छलफल अघि बढाएका थिए। त्यसक्रममा साहलाई जिम्मेवारी दिने तयारी भएको हो।

दीपक साह यसअघि पनि बालेन्द्र शाह नेतृत्वको सरकारमा श्रममन्त्री बनेका थिए। तर, उनी श्रममन्त्री बनेको छोटो समयमै पदबाट हटाइएका थिए। स्वास्थ्य बीमा बोर्डमा निलम्बित अवस्थामा रहेकी आफ्नी पत्नीलाई पुनर्बहाली गर्न भूमिका खेलेको विषयमा विवाद भएपछि प्रधानमन्त्री शाहले साहलाई श्रम मन्त्रालयबाट हटाएका थिए। अब भने उनै साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ। नियुक्ति भएमा साहले मुलुकमा देखिएको एलपी ग्यासको अभाव तथा अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्थापनको चुनौतीबीच मन्त्रालय सम्हाल्नेछन्।

ग्यास अभाव समाधान गर्न नसकेको भन्दै पछिल्लो समय उद्योग मन्त्रालयमाथि दबाब बढिरहेको थियो। यहीबीच उद्योगीहरूप्रति मन्त्री यादवले दिएको कडा अभिव्यक्ति पनि विवादमा परेको थियो। यादवको राजीनामापछि मन्त्रालयको नेतृत्व परिवर्तन हुन लागेको हो। साहको नियुक्तिले सरकारको आपूर्ति व्यवस्थापन, ग्यास संकट समाधान तथा उद्योगी–सरकार सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने चासो बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय