दोलखा– रातको समयमा आएको भीषण पहिरो र बाढीले गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा ठूलो क्षति पुर्‍याएको छ। प्राकृतिक विपत्तिका कारण १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको हेडवर्क क्षेत्र पूर्ण रूपमा बगाएको छ। अचानक आएको बाढी र पहिरोले आयोजनाको संरचनामा गम्भीर क्षति पुगेको जनाइएको छ। आयोजनामा कार्यरत चार जना कर्मचारीले रातभर ओडारमा लुकेर ज्यान जोगाउन सफल भएका छन्। उनीहरू विपत्तिको समयमा सुरक्षित स्थान खोज्दै ओडारमा बसेर बिहानसम्म ज्यान जोगाउन सफल भएका हुन्।

यसैबीच, घटनामा एक जना व्यक्ति बेपत्ता भएका छन्। स्थानीयका अनुसार ती व्यक्ति गोठमा रहेका बेला आएको बाढीपहिरोमा परेका हुन्। उनीसँगै गोठमा रहेका गाई–बाख्रासमेत बगाएको बताइएको छ। बाढीपहिरोपछि घटनास्थलमा खोज तथा उद्धार कार्य सुरु गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल, अस्थायी मनसुन सुरक्षा बेस सिंगटीका अनुसार बेपत्ता व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।

उद्धार टोलीले जोखिमपूर्ण अवस्थामा समेत खोजी कार्य जारी राखेको छ। घटनास्थलमा थप क्षतिको विवरण संकलन गर्ने काम भइरहेको छ। बाढीपहिरोले सडक, पूर्वाधार तथा स्थानीय जनजीवनमा समेत असर पुर्‍याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। मनसुन सक्रिय भएसँगै पहाडी क्षेत्रमा बाढीपहिरोको जोखिम बढेको भन्दै स्थानीय प्रशासनले सतर्क रहन आग्रह गरेको छ। जोखिमयुक्त क्षेत्रमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा रहन र आपतकालीन अवस्थामा सुरक्षाकर्मीसँग समन्वय गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय