काठमाडौं । तिहार पर्व नजिकिँदै गर्दा महोत्तरीका सर्वसाधारणलाई आफ्नै घरकरेसाको फूल नगद आर्जनको स्रोत बनेको छ । फूल खोज्दै हिँडेका व्यापारीले बैना रकम दिन थालेपछि स्थानीय दंग छन् । घर आँगनको शोभाका लागि रोपिएका केही बोट फूलबाटै नगद पाउन थालेपछि यहाँका गृहिणीले आम्दानी लिन थालेका हुन् ।
फूल लिन आउँदा अझै एक हजार दिने बोलकवोल ब्यापारीले गरेका उहाँको भनाइ छ । करेसाबारी र आफ्नो घर वरपर लगाइएको फूलबाट बटुवा पैसा भरिएला भन्ने सोचेकै थिएन यहाँका स्थानीयले । आफ्नो घरआँगन र करेसाका करिब ६०-६५ बोट सयपत्री र १५-१६ वटा मखमली फूलबाट २–३ हजार पाएपछि आगामी वर्षको लागि धरै फुललगाउने बताउँछन् ।



मिथिलामा दीपावली थरिथरिका फूलका माला र जताततै झिलिमिली बत्तीको उज्यालोको पर्व मानिन्छ । यस पर्वमा मैथिल परम्पराका कागपूजा, लक्ष्मीपूजा, गोवर्धन र भैयादुजसम्मका लागि चाहिने मालाको माग बढ्दै गएपछि फूल आम्दानीको स्रोत बनेको हो । पर्वअघि फूल खोज्दै बस्ती-बस्ती पस्ने ब्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि हम्मेसी पैसा नपर्ने स्थानीय हौसिएका छन् ।
जिल्लामा फूलको व्यावसायिक खेती विस्तार धेरै नभएपनि अब यस्को सम्भावना रहेको छ । दीपावली, छठ जस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चना तथा सभा समारोहलाई लक्षित गरी व्यावसायिक खेती सुरु गरिए जिल्लामा थप एउटा भरपर्दो आर्जनको बाटो खुल्न सक्नेछ ।



