काठमाडौं । घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखापरेको छ । शुक्लाफाँटा नगरपालिकाले नगरमा पहिलो पटक पार्वो भाइरस सङ्क्रमण देखापरेको जनाएको हो ।
नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा उपचारका लागि ल्याइएको कुकुरमा भाइरस देखा परेको पशु विकास शाखाका पशु चिकित्सक भोजराज पाण्डेयले जानकारी दिनुभयो । उहाँले बाह्य क्षेत्रबाट खरिद गरेर ल्याइएको कुकुरमा सो भाइरस सङ्क्रमण देखा परेको बताइएको छ । पाण्डेयले ६ महिनादेखि २ वर्ष उमेर समूहका कुकुरलाई यस किसिमको भाइरसको सङ्क्रमण तीव्र रूपमा फैलने गरेको बताउनु भयो ।



पार्वो भाइरसको सङ्क्रमण स्थानीय जातका कुकुरमा थोरैमात्र हुने भए पनि घरमै पालिने ‘एक्जोटिक ब्रीडहरू (बाह्य देशबाट ल्याइने विशेष प्रजातिका कुकुर) मा बढी देखापर्ने गरेको छ । पार्वो सङ्क्रमण भएका कुकुरमा रगतसहितको पातलो दिसा हुने, वाकवाकी लाग्ने, कुकुर चिसो भएको ठाउँ, झाडीमा बस्न रुचाउने, दिसा गन्हाउने, खानापानीमा रुचि नराख्नेलगायत लक्षण देखापर्ने गर्दछन् ।
शुक्लाफाँटा नगरपालिकाका पशु शाखा प्रमुख रामप्रसाद भट्टका अनुसार यो भाइरस रोकथाम गर्न सकिने खालको भएकाले पालकले समयमै खोप लगाइदिएमा कुकुरको ज्यान बचाउन सकिन्छ । कुकुरलाई सङ्क्रमण हुन नदिनका लागि जन्मिएको छ देखि आठ हप्ताको कुकुरका छाउराछाउरीलाई पार्वो भाइरसविरुद्धको नियमित खोप लगाउनुपर्ने हुन्छ ।



