अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्वर ८ च्युरामाटीका शारिरिक तथा मानसिक अपांग सुभाष सुनारलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । नागरिकता लिनका लागि सन्धिखर्क आउन शारिरिक तथा आर्थिक अबस्थाले नसक्ने थाहा पाएपछि अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले शारीरिक तथा मानसिक अपांगता भएका २६ बर्षिय सुनारलाई घरमै नागरिकता प्रदान गरेका हुन् ।
शारीरिक तथा मानसिक कमजोर भएका सुभाष बोल्न तथा हिड्डुल गर्न सक्दैनननै । जो होचो उसैका मुखमा घोचो भने जस्तै आमा गुमाएका सुभाषका पिता लालबहादुर पनि प्यारालाइसेसबाट पीडित छन् । जेठी श्रीमती गुमाइ कान्छी श्रीमती ल्याएका लालबहादुर आफू अपांग त छदै छन कान्छी श्रीमती पनि सुस्त मनस्थितीकी छन् ।



शारिरिक तथा मानसिक अबस्था कमजोर रहेका सुनारलाई नागरिकता लिन जिल्ला प्रशासन कार्यालयमा आउन समस्या हुने भएपछि उनको घरमै पुगेर नागरिकता प्रदान गरेको प्रजिअ ढकालले बताए । २६ बर्षको उमेर हुदा सम्म पनि नागरिकता बिहीन बनेका सुनार नागरिकता लिन सन्धिखर्क आउन पनि आर्थिक अभावले समस्या हुने भएपछि घरमै पुगेर नागरिकता प्रदान गरिएको हो ।
जीर्ण बनेको गोठ जस्तै घरमा बसेको उक्त परिवार हाल साहाराविहिन रहेको वडा अध्यक्ष राजकुमार श्रेष्ठले बताए । अपांगहरुको लागि राज्यले दिने सामाजिक सुरक्षाभत्ताको लागि पनि नागरिकता अनिबार्य हुन्छ । अब अपांग परिचय पत्र बनाउन पनि नागरिकता भएपछि सहज हुने भएको छ ।
नागरिकता प्रदान गर्न प्रजिअ ढकालका साथ प्रशासकीय अधिकृत नुमलाल पन्थी, वडा न.८ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, कार्यालका कर्मचारी सुदिप आचार्य, नेपाल पत्रकारम हासंघका अध्यक्ष अशोक खनाल लगायत कामिकै घरमा पुगेका थिए ।



