गत असोज १७ र १८ को अविरल वर्षाका कारण घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार गरिएको छ । वर्षाका कारण घर भत्किँदा घाइते भएका काभ्रेको भौगोलिक रुपमा विकट रहेका डाडाँपारीको महाभारत गाउँपालिका–८ घर्तिछापका ४६ वर्षीय दूधलाल मोक्तानलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिए । महाभारतमा सडक अवरुद्ध भएकाले तत्काल उद्धार गरी अस्पतालसम्म लैजान हेलिकप्टरको प्रयोग गरिएको महाभारत गाउँपालिका अध्यक्ष जिम्बाले जानकारी दिए ।
अविरल वर्षाका कारण मोक्तानको घर असोज २० गते भत्किएको थियो । घरको गारोले टाउकोमा लाग्दा गहिरो चोट लागेकाले उनको थप उपचारका लागि बुधवार हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ लगिएको हो ।घाइते मोक्तानको उद्धारका लागि महाभारत गाउँपालिका–८ को वडा कार्यालयले सिफारिस गरेपछि गाउँपालिकाले हेलि एम्बुलेन्सको व्यवस्थाका लागि अनुरोध गरेको थियो ।






