शुक्रबार साँझ परेको चट्याङ लागेर राक्सिराङ–८ माइसिराङमा आमाछोरी नै घाइते भएका छन् ।
साँझ ५ बजेको समयमा चट्याङ लाग्दा घरको पिढीमा खेलिरहेकी ६ बर्षीय छोरी एनिका प्रजा र २५ बर्षीय आमा रबिना प्रजालाई चट्याङ लागेको हो ।



चट्याङ लागेर छोरी एनिका गम्भीर घाइते भएको र आमा सामन्य घाइते भएको स्थानीय आर्यन प्रजाले जानकारी दिनुभयो । घाइतेहरुको उपचारको लागि स्थानीयले बोकेर मनहरीतर्फ ल्याउने काम भइरहेको उहाँले बताउनुभयो ।
स्थानीय देव प्रजाका अनुसार छोरी एनिकाको अवस्था गम्भीर रहेको र बेहोस अवस्थामा रहेको छ । उहाँले चट्याङको जोखिम न्युनिकरणका लागि राक्सिराङ गाउँपालिकाले विभिन्न कार्य गरे पनि चट्याङको जोखिम झन बढ्दै गएको गुनासो गर्नुभयो ।
राक्सिराङ गाउँपालिकाले विभिन्न प्रविधि जडान गरी चट्याङको जोखिम न्युनिकरणको प्रयास गरिरहेको छ । यसै बर्ष मात्र चट्याङ आउनुपुर्व सुचना दिने प्रविधि गाउँपालिकाको विभिन्न स्थानमा जडान गरिएको छ । तर बर्षेनी चट्याङ पर्ने र मानवीय क्षतिसमेत हुने क्रम रोकिएको छैन ।



