काठमाडौं । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी युरोपियन युनियनको निमन्त्रणमा ब्रसेल्स जानुहुने भएको छ । बेल्जियमको ब्रसेल्समा हुने “Cities and Region for International Partnerships-2025 Forum “ मा सहमागी हुनका लागि ब्रसेल्स जान लाग्नु भएको हो ।
डिसेम्बर ८ देखि १० सम्म हुने सम्मेलनमा नेपालका नगरपालिकाहरुमध्येबाट चन्द्रागिरि नगरपालिकालाई आफ्नो मन्तव्य राख्ने अवसर प्राप्त भएको प्रमुख गिरीले जानकारी दिनुभयो । उहाँले सामाजिक सञ्जाल फेसबुकमा यो अवसर प्राप्त गर्न साथ र सहयोग पुर्याउनेप्रति आभार समेत व्यक्त गर्नुभएको छ ।
सम्मेलनमा बढ्दो भूराजनीतिक प्रतिस्पर्धा र विश्वव्यापी एजेन्डामा ढिलो प्रगतिद्वारा परिभाषित विश्वव्यापी सन्दर्भ भित्र स्थानीय दृष्टिकोणले कसरी परिवर्तन ल्याउन सक्छ भन्ने विषयमा प्रमुख गिरीले आफ्नो धारणा राख्नुहुनेछ ।
यसैगरी ग्लोबल गेट वे रणनीति र यसको दृष्टिकोणमा विशेष ध्यान केन्द्रित गर्दै, सम्मेलनले युरोप दृष्टिकोणलाई अगाडि बढाउन र दिगो विकास लक्ष्यहरूको स्थानीयकरणलाई तीव्र पार्न स्थानीय र क्षेत्रीय अधिकारीहरूको महत्वपूर्ण भूमिकाबारे जानकारी दिनेपनि प्रमुख गिरीले बताउनुभयो ।



प्रत्येक दुई वर्षमा आयोजना गरिने सम्मेलनले स्थानीय दृष्टिकोणलाई इयुको अन्तर्राष्ट्रिय साझेदारी र विकास सहयोगको केन्द्रमा राख्दै ग्लोबल गेट वे प्रमुख परियोजनाहरूमा संलग्न वा संलग्न हुन उत्सुक प्रमुख स्थानीय र क्षेत्रीय निर्वाचित प्रतिनिधिहरू र अधिकारीहरूलाई सहभागि गर्ने गर्दछ ।



