काठमाडौं । धार्मिक, ऐतिहासिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण चन्द्रागिरि नगरपालिका वडा नम्बर १ को दहचोकमा इन्द्रजात्रा मेला सुरु भएको छ ।




ऐतिहासिक, साँस्कृतिक नगरी समृद्ध पर्यटकीय चन्द्रागिरिको नारालाई मूर्तरुप दिन र आन्तरिक पर्यटकलाई बढावा दिने र बाह्रय पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले जात्राको अघिल्लो दिन पहिलो पटक धिमे खःल, बासुरी खःल र लाखे नाच प्रदर्शन गरिएको छ । जात्रामा काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, मकवानपुरलगायत देशैभरबाट ५ देखि ६ लाखसम्म श्रद्धालुहरु आउने वडा अध्यक्ष हरिश्याम रानामगरले जानकारी दिनुभयो ।

वर्षा र सहकालका देवता इन्द्रको पूजा हुने स्थानको अघिल्लो रात आज यहाँ रातभर दीप प्रज्ज्वलन गरिन्छ । प्रत्येक वर्षको भाद्र शुक्ल पूर्णिमाको दिन इन्द्रदह स्नानका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । यहाँ स्नान गर्नाले जस्तो सुकै रोग पनि निको हुने जनविश्वास रहिआएको छ । सत्ययुगमा स्वर्गका राजा इन्द्र आएर सुनको मौलोमा हात्ती बाँधी इन्द्रदहमा स्नान गरेको जनविश्वास छ ।

करिब २ सय रोपनीे क्षेत्रफलमा फैलिएको साँस्कृतिक महत्व बोकेको इन्द्रदह परिसरलाई पवित्र तीर्थस्थलको रुपमा लिइन्छ भने यहाँ कालु पाण्डेको समाधिस्थल, भ्यूटावर, कोतघर, मनकामना मन्दिरलगायतका थु्रपै महत्व बोकेको स्थान रहेकोले पर्यटकीयहरुको प्रमुख आकर्षणको केन्द्रविन्दु बनेको छ ।

काठमाडौंको उत्तर पश्चिममा अवस्थित दहचोक प्राकृतिक सौन्दर्यका दृष्टिकोणले रमणीय र आकर्षकस्थल हो । यहाँबाट काठमाडौँ उपत्यका, धादिङ, गोरखा एकसाथ अवलोकन गर्न सकिन्छ । दहचोक डाँडाबाट उत्तरतर्फ नीलगिरि, धौलागिरि, अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, लाक्पादोर्जेलगायत हिमालको अवलोकन गर्न सकिन्छ ।





