काठमाडौं । चन्द्रागिरि नगरपालिका–२, बाणभन्ज्याङ नजिकको जंगल क्षेत्रमा एक मानव कंकाल फेला परेको छ । मसिने जाने बाटोको देउराली चण्डिका मन्दिर तल रहेको जंगलमा स्थानीय बासिन्दाले कंकाल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सूचना प्राप्त भएपछि प्रहरी वृत्त थानकोटबाट खटिएको टोली घटनास्थलमा पुगेर कंकाल सुरक्षित रूपमा नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक अजय जंग थापाको नेतृत्वमा रहेको टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ ।



हालसम्म कंकालको पहिचान खुलि नसकेको र मृत्युको कारण पनि अझै अस्पष्ट रहेको प्रहरीले जनाएको छ । घटनास्थलको अवस्थालाई ध्यानमा राख्दै फरेन्सिक परीक्षणसहित थप अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीले कंकाल पुरानो हुन सक्ने अनुमान गरेपनि यसलाई सबै सम्भावित कोणबाट अध्ययन गरिरहेको बताएको छ । हराइरहेका व्यक्तिहरूसँग सम्बन्ध हुन सक्ने भएकाले त्यसतर्फ पनि अनुसन्धान केन्द्रित गरिएको छ ।
यस घटनाले स्थानीयवासीमा केही त्रास पैदा गराएको भएपनि प्रहरीले आधिकारिक निष्कर्ष नआउँदासम्म कुनै अनुमान नगर्न आग्रह गरेको छ । उपत्यकामा अपराधका घटनाबारे विभिन्न धारणा फैलिरहेका बेला यस्ता घटनालाई तथ्य र प्रमाणका आधारमा मात्र मूल्यांकन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
प्रहरीले विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने बताएको छ ।



