काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व सापारु गाईजात्रा चन्द्रागिरिमा मनाइँदै छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ को विभिन्न टोलमा यो पर्व विशेष रुपमा मनाइएको छ ।

एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र विशेष गरी थानकोटको सिलाफल भन्ने स्थानसम्म परिक्रमा गराउने प्रचलन रहेको छ । यहाँ ल्याइएका गाईका रुपलाई काठको पिर्कामा राखेर पुजाआजा गर्ने र आफुले सक्दो दान दक्षिण गरी आर्शिवाद लिने गरिन्छ । पिर्कामा राखि उनीहरुको खुट्टा धोइदिने परम्परा पनि रहि आएको छ । गाईको रुपमा आएका व्यक्तिहरुको शरीरमा आफ्ना पितृ आएर बस्ने र उनीहरुको खुट्टा धोईदिंदा पितृले मोक्ष प्राप्त गर्ने जनविश्वास रहेको छ । पिर्कामा राखि खुट्टा धोइदिएपछि श्रद्धालुद्वारा उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्नका साथै द्रव्य दान गरेका थिए ।

नेपाल भाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात् गाईजात्रा हो । मृतकको सम्झनामा ठट्टा र रमाइलो गर्दै गरिने गाई जात्राले मृत्युको शाश्वत सत्यलाई स्वीकार गरी बाँच्न प्रेरित गर्ने विश्वास गरिन्छ ।

मल्ल कालका राजा प्रताप मल्लले पुत्रशोक परेर विहृवल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा सापारु निकाली सहर, गाउँ, टोल परिक्रमा गराउन आदेश दिएसँगै यो जात्रा सुरुभएको इतिहास छ । रानीको मन यतिले पनि शान्त हुन नसकेपछि विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम पनि गराउन आदेश दिएअनुरूप सापारु गाईजात्राको प्रचलन चलेको जनविश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय