काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १ स्थित धैरेनी डाँडामा सरसफाइ गरिएको छ । चन्द्रागिरिकका दुई वटा संस्थाहरू चन्द्रागिरि हाईकर्स कम्युनिटी (सिएचसी) तथा जेसिआई थानकोटको संयुक्त आयोजनामा धैरेनी डाँडा सफाइ कार्यक्रम गरिएको हो ।
ऐतिहासिक, धार्मिक तथा पर्यटनको दृष्टिबाट अत्यन्त महत्वपूर्ण धैरेनी डाँडामा पछिल्लो समय आन्तरिक पर्यटकहरूको बाक्लो आगमन तथा उनीहरूले प्रयोग गर्ने विभिन्न प्याकेजिङ्ग खानेकुराको खोल, पानी, मदिरालगायतका बोतल र नकुहिने प्लास्टिकका प्लेट, गिलासजन्य फोहर जथाभावी फाल्ने कार्यबाट धैरेनी डाँडा कुरुप हुँदै गएको अवस्थामा जेसिआई थानकोट र चन्द्रागिरि हाईकर्स कम्युनिटीले सरसफाइ गरेको हो ।



चन्द्रागिरि नगर क्षेत्रकै अत्यन्त महत्वपूर्ण दहचोक, ईन्द्रस्थान नजिक रहेको धैरेनी डाँडा सरसफाइ अभियानको उद्देश्य समग्र नगरको पर्यटन, सम्पदा संस्कृतिको प्रवद्र्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
विहान ७ बजेदेखि सुरु गरिएको सरसफाइ कार्यक्रम १० बजेसम्म सञ्चालन भएको थियो । उक्त सरसफाईबाट करिव दुई टन फोहोर संकलन भएको बताइएको छ । संकलित फोहोरलाई एक स्थानमा जम्मा गरी वडा नं. १ को पहलमा व्यवस्थापन गरिने पनि जनाइएको छ । काठमाडौं उपत्यकाबाट नजिकको धैरेनी डाँडा अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।
कार्यक्रममा धैरेनी डाँडा पछिल्लो समय फोहोर बन्दै गएको भन्दै सहभागिहरुले पर्यटकीय स्थलको संरक्षण तथा सम्बद्र्धनमा सम्पूर्ण नगरवासी, वडावासीहरुले ध्यान दिनुपर्ने बताएका छन् । सरसफाई कार्यक्रममा थानकोट जेसिआई थानकोट, चन्द्रागिरि हाइकर्स कम्युनिटीका सदस्य, स्थानीयलगायतको उल्लेख्य सहभागिता रहेको थियो ।



