काठमाडौं । चन्द्रागिरि नगरपालिका–११, सतुंगलस्थित नवरस संगीत पाठशालाको पहिलो लोक नृत्य कार्यशाला गोष्ठी सम्पन्न भएको छ । पांच दिने लोकनृत्य मगर समुदायको मौलिक कौराहा नृत्य, मौलिक थाली नृत्य, चौधरी समुदायको झुम्रा नृत्य, परम्परागत प्रचलित चर्या नृत्य, पश्चिमा मुलुकमा प्रचलित फ्रि–स्टाइल हिपहप नृत्यको कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।
पूर्व सांसद बम कुमारी बुढामगरको प्रमुख आथित्यतामा भएको समापन कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक राजु शाहले कला, संस्कृति रहे हामी रहने बताउँदै नवरस संगीत पाठशालाको यो कदमले कला जगेर्नामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले यस्ता गोष्ठीहरुले मौलिक परम्परागत नृत्यको जगेर्ना गर्ने र पुस्तान्तरणमा समेत मद्दत पुग्ने बताउनुभयो ।



कार्यक्रममा मातातीर्थ संरक्षण विकास संस्थाका अध्यक्ष शान्त उदासले नृत्यले मनोरञ्जन दिने मात्र नभई स्वस्थ रहन समेत मद्दत पुग्ने भएकाले प्रशिक्षार्थीहरुलाई नृत्यमा निरन्तरता दिन आग्रह गर्नुभयो ।
यसैगरी, चन्द्रागिरि नगरपालिका वडा नं. ११ का पूर्व वडा अध्यक्ष हरिभक्त महर्जनले नगरका पूर्व र वर्तमात जनप्रतिनिधिहरुले कला संरक्षणमा लिएको अभियान नवरस संगीत पाठशालाले पूरा गर्दै लगेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनेमा आफू आशावादी रहेको समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा नायःखीःबाजा संरक्षणमा योगदन पुर्याए वापत् चन्द्रागिरि–१० का पूर्ण बहादुर शाही र सानुकाजी श्रेष्ठलाई सम्मान गरिएको थियो । पांच दिने कार्यशाला गोष्ठीमा विभिन्न विधाका नृत्य प्रशिक्षकहरु र प्रशिक्षक र प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । साथै कार्यक्रममा प्रशिक्षार्थीहरुले सिकेका नृत्यहरु प्रस्तुत गरेका थिए ।
आयोजक संस्थाका प्रतिनिधिहरूले यस्ता कार्यक्रमहरूले युवा पुस्तामा लोक संस्कृतिप्रति रुचि बढाउने विश्वास व्यक्त गरेका छन् । स्थानीय अभिभावक तथा सांस्कृतिक प्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रमले चन्द्रागिरि क्षेत्रमा कला र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकले जनाएको छ ।



