काठमाडौं । चन्द्रागिरि नगरपालिकाको १४ र १५ जोड्ने नैकाप चोकमा आकाशे पुल निर्माण कार्य सुरु भएको छ । त्रिभुवन राजपथ अन्तर्गत चन्द्रागिरि नगरपालिका हुँदै बाहिरिने र भित्रिने सवारी साधन तथा पैदल यात्रीहरुको अत्याधिक चाप र घुइँचो हुन थालेपछि नगरपालिकाले नैकाप चोकमा आकाशे पुल निर्माण गर्ने भनि सडक विभाग अन्तर्गतको सडक बोर्डसँग आवश्यक समन्वय गरि टेण्डर प्रकिया अघि बढाएको थियो ।



२ करोड ९० लाख ( भ्याट बाहेक) रुपैयाँमा निर्माण हुन लागेको आकाशे पुल निर्माणपछि कलंकी देखि नागढुंगासम्मको जाममा केही कम हुने र नैकाप क्षेत्रमा पैदलयात्रीहरूले असुरक्षित रूपमा सडक वारपार गर्नुपर्ने बाध्यता पनि हट्ने विश्वास गरिएको छ । आइतबार नैकाप चोकको सडक छेउमै रहेको सानो छाप्रो हटाउन नगरपालिकाको डोजर पुगेको थियो । व्यवसायीले आफैले टहरा हटाउने भनेपछि नगरप्रहरीको निगरानीमा उक्त टहरा हटाउन थालिएको छ ।
नगरप्रमुख घनश्याम गिरीको सचिवालयले यसअघि नै सामाजिक सञ्जालमा नैकापमा बन्ने भनिएको आकाशे पुलको डिजाइन सार्वजनिक गरिसकेको छ ।
चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगर क्षेत्रमा ट्राफिक लाईट नहुँदा पैदल यात्रीहरुलाई सडक हिडडुलमा कठिनाई भईरहेको र सडक दुर्घटनालाई न्यूनिकरणका लागि नगरपालिकाले कलंकी देखि नागढुंगासम्म पाँच स्थानमा ट्राफिक लाईट पनि राख्न लागेको जानकारी दिनुभयो । उहाँले ट्राफिक लाइट जडानपछि सडक दुर्घटना न्यूनीकरण हुने, ट्राफिक जनशक्ति कम लाग्ने र चोक–चोकमा ट्राफिक बसेर हातले इशारा गर्नुपर्ने समस्या पनि अबको केही महिनामै हट्ने बताउनु हुन्छ ।



