काठमाडौं । चन्द्रागिरि नगरपालिकाको न्यायिक समितिले आफुले गरेको निर्णय संग्रहको पुस्तक सार्वजनिक गर्ने भएको छ । यही २७ गते आइतबार चन्द्रागिरि नगरपालिकाको प्रशासकीय भवनको सभा हलमा हुने कार्यक्रममा पुस्तक सार्वजनिक गर्न लागिएको हो ।

चन्द्रागिरि नगरपालिकाको कानून शाखा प्रमुख चिरञ्जिवी खड्काले न्यायिक समिति गठन भएको वर्षदेखि चालु आ.ब. २०८१-०८२ को पुस मसान्तसम्म न्यायिक समितिले गरेका निर्णयहरु पुस्तकमा समेटिएको OUR NEWS CREW लाई जानकारी दिनुभयो । उहाँले स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ मा स्थानीय तहले आफैले निरुपण गर्न पाउने विषय र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४८ मा न्यायिक समितिको अधिकार क्षेत्र भित्र रही विवादको कारवाही र किनारा लगाउँदै आएको उल्लेख गर्नुभयो ।

नेपालको संविधानको धारा २१७ र स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४६ बमोजिम हरेक स्थानीय तहमा नगर उपप्रमुखको संयोजकत्वमा न्यायिक समितिको व्यवस्था उल्लेख भएबमोजिम चन्द्रागिरि नगरपालिकामा पनि २०७५ सालमा न्यायिक समिति गठन भएको हो । समिति गठन भएसँगै न्यायिक समितिले आजका दिनसम्म सक्रिय रुपमा आफ्नो जिम्मेवारी बहन गर्दै व्यवस्थित रुपमा न्याय सम्पादन गर्दै आएको छ । प्रमुख खड्काले न्यायिक समितिले आफुले गरेका निर्णयलाई एकीकृत गरी सोको अभिलेखी करणको लागि निर्णय संग्रह पुस्तक सार्वजनिक गर्न लागिएको र पुस्तक सार्वजनिक भएसँगै चन्द्रागिरिमा विद्यामान विवाद र सो को निरुपणका लागि न्यायिक समितिले निर्वाह गरेको भूमिकाप्रति नगरबासी र यो विषयसँग सम्बन्धित जो कोही पनि स्पष्ट हुनेमा आफुहरु आशावादी रहेको उल्लेख गर्नुभयो ।

खड्काले घर तथा जग्गा किचलो, लेनदेन, वाहाल रकम उठाई घर कोठा खाली, जेष्ठ नागरिक, महिला तथा बालबालिका लालनपालन, पालन पोषण, माना चामल भराउने, पारिश्रमिक विवाद, ढल तथा सार्वजनिक विवाद, राजकुलो विवादलगायतका विषय धेरै न्यायिक समितिमा आउने गरेको बताउनु भयो । उहाँले २०७५ सालमा न्यायिक समिति गठनभएसँगै आर्थिक वर्ष २०८१-०८२ सालको पुस मसान्तसम्म समितिले ४९ वटा मुद्दाको निर्णय गरेको बताउनु भयो ।

न्यायिक समितिमा आएका मुद्दाका निर्णय (कुन वर्ष कति ?)

२०७५-०७६ – २ वटा निर्णय
२०७६-०७७ – २ वटा निर्णय
२०७७-०७८ – ६ वटा निर्णय
२०७८-०७९ – ६ वटा निर्णय
२०७९-०८० – ११ वटा निर्णय
२०८०-०८१ – २२ वटा निर्णय (पुस मसान्तसम्म)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय