काठमाडौं । चन्द्रागिरि नगरपालिका–७ स्थित महाँकाल भैरव मन्दिरमा परम्पराअनुसार यस वर्ष पनि विशेष पूजाआजा सम्पन्न गरिएको छ । स्थानीय समुदायले पुस्तौंदेखि निरन्तर रूपमा महाँकाल भैरव मन्दिरमा संचालन गर्दै आएका विशेष पुजाआजा यो वर्ष सम्पन्न गरेका छन् ।

स्थानीयले महाँकाल भगवानकै नामबाट गुठी संचालन गर्दै आएका छन् । सोही गुठीको व्यवस्थापनमा प्रत्येक वर्ष असार महिना भित्र विशेष पूजाआजा गर्ने परम्परा कायम रहेको छ । महाँकाल भैरवको आराधना गरेमा रोगव्याधिबाट मुक्ति मिल्ने, परिवार तथा समाजमा सुख, शान्ति र समृद्धि कायम हुने तथा भगवानले समुदायको रक्षा गर्ने धार्मिक विश्वास रहिआएको छ । यही आस्थाले हरेक वर्ष स्थानीयवासीका साथै विभिन्न स्थानबाट समेत भक्तजन दर्शनका लागि यहाँ पुग्ने गरेका छन् ।

चन्द्रागिरि–७ का बासिन्दाले पूजाआजा गर्दै आएका देवी–देवतामध्ये महाँकाल भैरवलाई प्रमुख आराध्य देवताका रूपमा मान्दै आएका छन् । स्थानीय धार्मिक, सामाजिक र सांस्कृतिक जीवनसँग महाँकाल भैरवको सम्बन्ध गहिरो रहेको पाइन्छ । यस क्षेत्रका विभिन्न धार्मिक तथा सामाजिक गतिविधि, संघसंस्था र सामुदायिक अभियानहरूमा समेत महाँकाल नाम जोडिएको छ ।

पछिल्ला वर्षहरूमा महाँकाल क्षेत्र धार्मिक आस्थाको केन्द्र मात्र नभई ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा पनि क्रमशः विकास हुँदै गएको छ । प्राकृतिक सौन्दर्य, हरियाली वातावरण र शान्त परिवेशका कारण यहाँ आन्तरिक पर्यटकको आगमन बढ्न थालेको छ । यस क्षेत्रको पर्यटन प्रवद्र्धनलाई थप टेवा पुर्याउने उद्देश्यले ट्रेकिङ मार्ग र विभिन्न पिकनिक स्टलहरुसमेत निर्माण भईसकेको छ ।

महाँकाल क्षेत्रबाट काठमाडौं उपत्यकाको मनोरम दृश्यसँगै उत्तरी हिमश्रृंखलाको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । प्राकृतिक शान्ति र रमणीय वातावरणले पछिल्लो समय यो क्षेत्र पिकनिक तथा छोटो दूरीको भ्रमणका लागि समेत लोकप्रिय बन्दै गएको छ ।

महाँकाल भैरवको दर्शन गर्न आउने भक्तजनले सोही परिसरमा रहेका देवी, गणेश, शिकाली, संसारी र वनदेवीको समेत दर्शन गर्न पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय