काठमाडौं । अविरल वर्षासँगै चन्द्रागिरि नगरपालिका वडा नं. ७ अन्तर्गत वाणस्थलीबाट त्रिवेणी जाने सडकखण्डमा पहिरो खस्दा खोला थुनिन पुगेको छ ।

पहिरोले पानीको प्राकृतिक बहाव अवरुद्ध गरेपछि आसपासका बस्ती तथा क्षेत्रमा थप जोखिम सिर्जना हुने अवस्था देखिएको थियो । पहिरोका कारण यसअघि नदी कटान नियन्त्रण तथा सुरक्षाका लागि निर्माण गरिएको जाली पर्खालसमेत भत्किँदा सम्भावित क्षतिको जोखिम अझ बढेको छ । घटनापछि वडा नं. ७ का वडा सदस्य भुवन कुमार केसीको पहल र समन्वयमा तत्काल विपद् व्यवस्थापन कार्य अघि बढाइएको हो । जोखिम बढ्न नदिन सम्बन्धित निकायहरूसँग समन्वय गरी घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नगरप्रहरी तथा रिह्याब सेन्टरका प्रतिनिधिहरू परिचालन गरिएका थिए । संयुक्त टोलीले पहिरो हटाउने, खोला खुलाउने, पानीको बहावलाई पुनः सञ्चालन गर्ने तथा थप पहिरो खस्न सक्ने स्थानहरूको निरीक्षण गर्दै आवश्यक सुरक्षाका उपायहरू अपनाएको जनाएको छ ।

पहिरोले यसअघि निर्माण गरिएको जाली पर्खालसमेत बगाएकाले उक्त क्षेत्रमा थप संरक्षणका संरचना निर्माण गर्नुपर्ने आवश्यकता देखिएको स्थानीयको भनाइ छ । उनीहरूले वर्षायाममा यस्ता जोखिमयुक्त स्थानहरूको नियमित अनुगमन, दीर्घकालीन तटबन्ध तथा पहिरो नियन्त्रणका योजना कार्यान्वयन गर्न सम्बन्धित निकायसँग मागसमेत गरेका छन् ।

वडा सदस्य भुवन कुमार केसीले प्राकृतिक विपद्को अवस्थामा नागरिकको जिउधनको सुरक्षा नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै जोखिमको सूचना प्राप्त हुनासाथ आवश्यक निकायसँग समन्वय गरी तत्काल उद्धार तथा व्यवस्थापन कार्य सुरु गरिएको बताए । उनले विपद्का बेला सबै निकायबीचको सहकार्य र समन्वय नै प्रभावकारी व्यवस्थापनको आधार भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता घटनाप्रति वडा कार्यालय सदैव सतर्क रहने बताए ।

वर्षायामसँगै चन्द्रागिरि क्षेत्रका विभिन्न स्थानहरू पहिरोको उच्च जोखिममा पर्ने भएकाले स्थानीय तह, सुरक्षा निकाय तथा समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता यस घटनाले पुनः उजागर गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय