काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ११ स्थित विष्णुदेवी भिलेज टोलमा संचालन गरिएको सडक स्तरोन्नति योजनाको भुक्तानी प्रक्रिया अघि बढ्ने भएको छ । लामो समयदेखि सार्वजनिक सडकको उपयोग र मापदण्डसँग जोडिएको विषयले रोकिएको भुक्तानी नगरपालिकाले तीन पटकसम्म स्थलगत अनुगमन गरेपछि भुक्तानीको प्रक्रिया अघि बढेको हो ।

चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठको नेतृत्वमा योजना शाखा र प्राविधिक शाखाको टोलीले बिहीबार तेस्रो पटक स्थलगत अनुगमनका क्रममा यसअघि हटाउन बाँकी रहेका थप ४२ वटा र्याम्प समेत भत्काइएको पाइएपछि योजनाको भुक्तानी प्रक्रियालाई अगाडि बढाउने संकेत देखिएको छ । विष्णुदेवी भिलेज टोल सुधार समितिले नगरपालिकाबाट विनियोजित बजेटमार्फत उक्त क्षेत्रमा ब्लक बिछ्याउने लगायतका पूर्वाधार निर्माण कार्य सम्पन्न गरेको थियो । तर, काम सम्पन्न भएपछि भुक्तानीका लागि गरिएको प्रारम्भिक अनुगमनमा अधिकांश घरधनीले आफ्नो घरअगाडि सार्वजनिक सडकमै र्याम्प निर्माण गरेको पाइएको थियो । यसले सडकको वास्तविक चौडाइ घटाउने र भविष्यमा आवागमन तथा पूर्वाधार व्यवस्थापनमा समस्या सिर्जना गर्ने भएपछि नगरपालिकाले र्याम्प हटाउन निर्देशन दिएको थियो ।

निर्देशनपछि समितिले र्याम्प हटाएको जानकारी दिँदै भुक्तानी माग गरेपनि दोस्रो अनुगमनका क्रममा धेरै स्थानमा र्याम्प यथावत् भेटिएपछि उपप्रमुख श्रेष्ठले भुक्तानी रोक्न निर्देशन दिनुभएको थियो । त्यसबेला नगरपालिकाले सार्वजनिक सम्पत्तिमा अवरोध कायम राख्दै भुक्तानी लिन खोजिएको भन्दै फाइल अघि नबढाउने उपप्रमुख श्रेष्ठले योजना शाखालाई निर्देशन दिनुभएको थियो ।

भुक्तानी रोकिएपछि समितिका केही प्रतिनिधिहरु नगरपालिकामा पुगेर भुक्तानीका लागि दबाब दिएको थियो । नगरपालिकाले सार्वजनिक हितविपरीत कार्यलाई वैधानिकता दिन नसकिने र नियमविपरीत भुक्तानी भए त्यसविरुद्ध कानुनी रूपमा उभिने उपप्रमुख श्रेष्ठको चेतावनीपछि भुक्तानी पुनः रोकिन पुग्यो । पछि समितिले सबै र्याम्प हटाइसकेको भन्दै तस्बिरसहित पुनः अनुगमन गर्न आग्रह गरेपछि तेस्रो पटक उपप्रमुख श्रेष्ठको नेतृत्वमा योजना शाखा, प्राविधिक शाखाका प्रधिनिधिलगायतले बिहीबार स्थलगत निरीक्षण गरेको थियो । सो क्रममा बाँकी र्याम्प भत्काइएको पाइएपछि नगरपालिकाले योजनाको भुक्तानी प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको थियो ।

अनुगमनपछि उपप्रमुख श्रेष्ठले र्याम्प हटाइएका स्थानमा आवश्यक व्यवस्थापनका लागि नगरपालिका आफैंले ब्लक बिछ्याउने जानकारी जानकारी दिंदै सडक व्यक्तिगत सुविधा भन्दा पनि सामूहिक हितका लागि निर्माण हुने भएकाले भविष्यलाई ध्यानमा राखेर सडकलाई सकेसम्म फराकिलो र व्यवस्थित बनाउनु आवश्यक रहेको बताउनुभयो ।

चन्द्रागिरि नगरपालिका वडा नं. ११ को वडा कार्यालयबाट विनियोजित १० लाख ५० हजार रुपैयाँ लागतको उक्त सडक स्तरोन्नति योजनाको सम्झौता २०८२ मंसिर १० गते गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय