काठमाडौं । सहिद स्मारक प्रकृति प्रतिष्ठानका नवनियुक्त अध्यक्ष चन्द्रबहादुर गोपालीले पदभार ग्रहण गर्नुभएको छ । अध्यक्ष गोपालीले पदभार ग्रहणको क्रममा त्रिभुवन पार्कको व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पदभार ग्रहणपछि ।।।। सँग कुरा गर्दै अध्यक्ष गोपालीले विगतमा पार्क सञ्चालनका क्रममा भएका केही निर्णयले संस्थाको उद्देश्यअनुसार काम हुन नसकेको दाबी गर्नुभयो । उहाँले अब स्थानीय समुदायको भावना र आवश्यकतालाई प्राथमिकतामा राखेर विगतका कमीकमजोरीलाई सुधार्दै अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।



अध्यक्ष गोपालीले पार्कको दीर्घकालीन विकासका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी सोही आधारमा सौन्दर्यकरण, पूर्वाधार विकास तथा व्यवस्थापनका काम अघि बढाइने जानकारी दिनुभयो । साथै, कर्मचारीहरूको तलब, सञ्चयकोष तथा अन्य सेवा–सुविधासम्बन्धी समस्यालाई पहिलो प्राथमिकताका साथ समाधान गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा भूमि प्रशासन मन्त्री विन्दु श्रेष्ठले सरकारको निर्णय कार्यान्वयन गर्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले नयाँ समितिलाई समयमै चलअचल सम्पत्ति, हिसाब किताव हस्तान्तरण गर्न आग्रह गर्दै सरकारी निर्णयको अवज्ञा गरे कानुनअनुसार आवश्यक कदम चालिने चेतावनी दिनुभयो ।
यता प्रतिष्ठानका कर्मचारीहरूले लामो समयदेखि तलब, सञ्चयकोष तथा अन्य सेवा–सुविधाबाट वञ्चित हुँदै आएको गुनासो गरेका छन् । नयाँ नेतृत्व आएपछि आफूहरूको समस्या समाधान हुने र नियमित रूपमा सेवा–सुविधा प्राप्त हुने अपेक्षा उनीहरूले व्यक्त गरेका छन् । कर्मचारीहरूले संस्थाका निर्णय प्रक्रियामा परामर्शको संस्कृति कायम रहने विश्वाससमेत व्यक्त गरेका छन् ।
यसअघि अध्यक्ष गोपालीले पदभार ग्रहण गर्नुअघि प्रतिष्ठान कार्यालयमा रहेको बोर्ड हटाएर ‘त्रिभुवन पार्क सञ्चालन तथा व्यवस्थापन समिति’ नामको नयाँ बोर्ड राखिएको थियो । साथै, पार्क प्रवेशका लागि प्रयोग हुने पुरानो टिकटको सट्टा नयाँ समितिको नाम उल्लेख गरिएको टिकटसमेत प्रयोगमा ल्याइएको छ ।



