काठमाडौं । चन्द्रागिरि नगरपालिका–८ मातातिर्थस्थित श्री सेतिदेवी आधारभूत विद्यालयमा अध्ययनरत अति विपन्न विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण गरिएको छ ।
पूर्व प्रशासक तथा समाजसेवी खड्गबहादुर श्रेष्ठ र जागरण महिला विकास समाज नेपालकी अध्यक्ष सुगन्धा सुवेदी सिग्देलको विशेष पहलमा विद्यालयका ५८ जना छात्र–छात्रालाई ट्र्याकसुट वितरण गरिएको हो ।
आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका विद्यार्थीहरूलाई विद्यालयमा नियमित उपस्थिति, खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सक्रिय सहभागिताका लागि प्रोत्साहन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकहरूले बताएका छन् । ट्र्याकसुट वितरणले विद्यार्थीहरूको आत्मविश्वास बढाउनुका साथै उनीहरूलाई अध्ययनसँगै शारीरिक विकासतर्फ पनि प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा वडा नं. ८ का वडा सदस्य रत्न श्रेष्ठले विपन्न विद्यार्थीहरूको शैक्षिक भविष्य उज्ज्वल बनाउन समुदायस्तरबाट सहयोग आवश्यक रहेको बताए । उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिन आयोजकहरुलाई आग्रह समेत गरेका छन् ।
त्यस्तै, सुगन्धा सुवेदी सिग्देलले बालबालिकाको शिक्षामा लगानी गर्नु नै समाजको दीर्घकालीन विकासको आधार भएको उल्लेख गर्दै आगामी दिनमा पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग विस्तार गर्ने बताइन् ।
श्री सेतिदेवी आधारभूत विद्यालयका प्रतिनिधिहरूले सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूमा उत्साह र हौसला थपेको बताएका छन् । विद्यालय प्रशासनका अनुसार धेरैजसो विद्यार्थीहरू आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्री जुटाउन समस्या झेल्दै आएका छन् । यस्तो सहयोगले उनीहरूको दैनिक विद्यालय जीवनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।
स्थानीयवासीले यस्ता सहयोगले विद्यालयमा मात्र होइन, समग्र समुदायमा नै सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन् । बालबालिकालाई शिक्षासँगै आत्मसम्मान र समान अवसर प्रदान गर्न यस्ता पहलहरू महत्वपूर्ण हुने सरोकारवालाहरूको भनाइ छ ।



थप समाचार आज बेलुकी ६ बजे GOOD NEWS मा हेर्न सकिनेछ ।



