काठमाडौं । चन्द्रागिरि नगरपालिकाको हाइभिजन प्रवेश नजिकको मुख्य सडक खण्ड पछिल्लो समय दुर्घटनाको ‘हटस्पट’ बन्दै गएको छ । दैनिकजसो साना–ठूला सवारी दुर्घटना भइरहँदा स्थानीय बासिन्दा, पैदलयात्री तथा विद्यार्थीहरू जोखिममा परिरहेका छन् ।

हिजो मात्र यात्रुवाहक बसले विद्यार्थी बोकेको अर्को बसलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनाले ठूलो मानवीय क्षति नपुगे पनि बसभित्र रहेका विद्यार्थीहरू डराएका थिए । अभिभावकहरू आफ्ना बालबालिकाको सुरक्षाप्रति गम्भीर चिन्तित बनेका छन् ।

यसअघि केही महिना अघि पनि सोही स्थानमा तीव्र गतिमा आएको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । उक्त घटनापछि केही समय शान्त देखिए पनि दुर्घटना फेरि दोहोरिनुले यो सडक खण्ड कति असुरक्षित छ भन्ने स्पष्ट देखिएको छ ।

आज पुनः सोही क्षेत्रमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिएर घटनास्थलबाट फरार भएको छ । प्रत्यक्षदर्शीका अनुसार ठक्करपछि मोटरसाइकल चालक सवारी रोकेनन् र तीव्र गतिमा फरार भए । दुर्घटनामा परेका स्कुटर चालक युवती सामान्य घाइते भएकी छन् भने स्कुटरमा क्षति पुगेको छ ।

स्थानीयवासीका अनुसार हाइभिजन नजिकको सडकमा ट्राफिक प्रहरीको नियमित निगरानी नहुनु, सवारी साधनको अत्यधिक गति, जथाभावी ओभरटेक तथा स्पष्ट ट्राफिक संकेत नहुनु दुर्घटनाको मुख्य कारण हो । विद्यालय, कलेज तथा व्यावसायिक क्षेत्र नजिक रहेकाले यो सडक झनै संवेदनशील रहेको उनीहरूको भनाइ छ ।

स्थानीय बासिन्दा तथा सरोकारवालाले सम्बन्धित निकायलाई तत्काल सो क्षेत्रमा ट्राफिक प्रहरीको स्थायी व्यवस्था गर्न, गति नियन्त्रणका उपाय (स्पीड ब्रेकर, सिसिटिभी क्यामेरा, सडक संकेतको व्यवस्था गर्न माग गरेका छन् । साथै दुर्घटनामा संलग्न सवारी चालकलाई कडाइका साथ कारबाही गर्नुपर्ने उनीहरूको जोड छ ।

यदि समयमै प्रभावकारी कदम चालिएन भने भविष्यमै ठूलो मानवीय क्षति हुन सक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय