काठमाडौं । जननेता मदन भण्डारीको ७४औं जन्मजयन्तीको अवसर पारेर राष्ट्रिय यूवा संघ नेपालले वृक्षारोपण अभियान २०८२ शुभारम्भ कार्यक्रमको आयोजना गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर १३स्थित मदन भण्डारी पार्कमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशैभर एक महिनासम्म वृक्षारोपण कार्यक्रमको आयोजना गरेर युवा संघ नेपालले वातावरण क्षेत्रमा स्वदेशमा मात्र नभई विदेशका मानिसलाई समेत स्वच्छ हावा खुवाउन मद्दत पुर्याएको दाबी गर्नुभयो । उहाँले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा देशैभर विभिन्न कार्यक्रम भइरहेको र भण्डारीले देश र पार्टीप्रति पुर्याएको योगदान जिवन्त रहिरहने उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जवज)लाई नेकपा एमालेले आजका दिनसम्म पनि आत्मसाथ गर्दैै अघि बढिरहेको स्मरण गर्नुभयो ।
अध्यक्ष ओलीले एमालेका नेता तथा कार्यकर्ताहरुलाई अनुशासनहीन तरिकाले नहिड्न सुझाव दिंदै केही व्यक्तिहरु आफ्नो नीजि स्वार्थका साथ अघि बढिरहेकोले पार्टीको अनुशासनलाई तोड्ने प्रयास नगर्न चेतावनी दिनुभयो । उहाँले नेकपा एमाले अब मिसन ८४ मा रहेकोले आफ्नो लक्ष्यबाट बाहिर नगई अर्जुन दृष्टि बनाएर अघि बढ्न नेता तथा कार्यकर्तालाई सुझाव दिनुभयो । मिसन ८४ लाई कसैले बाधा पुराउन नहुने र पुराउन पनि नसक्ने भन्दै यदी कोही लागि परे त्यसको हिसाब किताब गरिने बताउनु भयो ।




यसैगरी कार्यक्रममा नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतले आफ्नो जीवन अवधिमा कम्तिमा पनि तीन वटा रुख हुर्काइ आफुलाई स्वास प्रस्वासको लागि यथेष्ट हक प्राप्त गर्न आग्रह गर्नुभयो । उहाँले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विरुवा मात्र नरोपी विरुवासँगसँगै आशा र सपना रोपेको बताउनु भयो । उहाँले त्यो आशालाई विश्वासमा परिणत गर्दै सपनालाई विपनामा परिणत गर्न सबै एकजुट भएर लाग्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले स्थानीय साना तिना योजना मात्रै नभएर राष्ट्रिय गौरबको आयोजना सुरुङ मार्गको शिलान्यास गरेको र अबको दिनमा उद्घाटनको तयारी अवस्थामा पुगेको बताउँदै चन्द्रागिरिको समृद्धिको लागि देखाउनु भएको चासोप्रति आफु सधै उहाँप्रति नतमस्तक रहेको बताउनु भयो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ का युवा विधान श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोह गरेर चन्द्रागिरिको नाम उच्चो राख्न मद्दत पुराएको भन्दै श्रेष्ठलाई प्रधानमन्त्री ओलीले सम्मान गर्नुभएको थियो ।



