काठमाडौँ  । काठमाडौँको चन्द्रागिरि नगरपालिकामा पहिलो पटक ट्राफिक लाइट जडान कार्य सुरु गरिएको छ। नगरपालिकाको पहलमा गुर्जुधारा चोक नजिक ट्राफिक लाइट जडान गर्न थालिएको हो ।

लामो समयदेखि नगर क्षेत्रमा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न तथा सडक सुरक्षालाई थप प्रभावकारी बनाउन नगरपालिकाले ट्राफिक लाइट जडानका लागि पहल गर्दै आएको थियो । सोही प्रयासस्वरूप अहिले गुर्जुधारा क्षेत्रमा पहिलो चरणको ट्राफिक लाइट जडान कार्य अघि बढाइएको नगरपालिकाले जनाएको छ ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले नगरभित्रका मुख्य तथा व्यस्त चोकहरूमा क्रमशः ट्राफिक लाइट जडान गरिने जानकारी दिएका छन् । उनका अनुसार आधुनिक ट्राफिक व्यवस्थापन प्रणालीमार्फत सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउने लक्ष्य लिइएको छ ।

नगर प्रमुख गिरीले ट्राफिक लाइट सञ्चालनमा आएपछि सवारी चालकलाई मात्र नभई सडक पार गर्ने पैदल यात्रु तथा स्थानीय बासिन्दालाई समेत ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । ट्राफिक लाइटको प्रयोगले दुर्घटना न्यूनीकरण, जाम व्यवस्थापन तथा सडक अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

स्थानीयवासीले पनि नगरपालिकाको यस कदमलाई सकारात्मक रूपमा लिँदै व्यस्त सडक क्षेत्रमा ट्राफिक व्यवस्थापन सुधार हुने आशा व्यक्त गरेका छन् । चन्द्रागिरि नगरपालिकामा पहिलो पटक ट्राफिक लाइट जडान हुनुलाई नगरको पूर्वाधार विकास र आधुनिक शहरी व्यवस्थापनतर्फको उपलब्धिका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय