काठमाडौं । चन्द्रागिरि नगरपालिकाको विभिन्न शाखा र समितिको भ्रमणलाई लिएर अहिले नगरबासीमा चासोको विषय बन्न थालेको छ । चन्द्रागिरि नगरपालिकाको १५ वटै वडा र नगरमा रहेको ११ वटा विषयगत समितिको बारम्बारको भ्रमणलाई लिएर अहिले नगरबासीमा आक्रोश पोखिन थालेको देखिन्छ । पुस महिनामा मात्र नगरपालिकाको तीन वटा समितिको विभिन्न बहानामा जनप्रतिनिधि र कर्मचारीले देव दर्शन भ्रमण गरे । माघ महिनामा पनि विभिन्न वडा र केही समितिहरु विभिन्न बहानामा देवदर्शन भ्रमणमा निस्कदै छ । केही वडाका जनप्रतिनिधि र कर्मचारी त छिमेकी देश भारत भ्रमण गर्दैछन् ।
जनप्रतिनिधि र कर्मचारीले विभिन्न बहाना बनाउँदै बारम्बार गर्ने गरेको देवदर्शन भ्रमणलाई लिएर यतिबेला सामाजिक संजाल पनि व्यापक रुपमा तात्न थालेको छ । जनप्रतिनिधिले आफ्नो काम, कर्तव्य विर्सिएर वडा, नगर र नगरबासीको हितमा भन्दा पनि कमाउ र रमाउमा व्यस्त भएको भन्दै सामाजिक संजालमा आलोचना हुन थालेको छ ।




नेकपा एमाले चन्द्रागिरि नगरकमिटीका अध्यक्ष उत्तम बहादुर राउतले आफ्नो सामाजिक संजालमा लेख्छन्, ‘जनतालाई निचोरेर असुल गरिएको करबाट उपलब्धिहीन देशविदेश यात्रा गर्ने प्रतिनिधिलाई के भन्नुहुन्छ ?’ उहाँको प्रश्नमा १ सय ६ जनाले सामाजिक संजालबाट आफ्नो धारणा राखेका छन् । सामाजिक संजालमा आफ्नो धारणा राख्ने १ सय ६ जनाले नै नगरपालिकाको यस्तो कदम राम्रो नभएको भन्दै आक्रोश पोखेका छन् । जनप्रतिनिधि र कर्मचारीको काम र गतिविधिलाई लिएर सामाजिक संजालमा आलोचना हुनुभनेको पक्कै पनि नगरबासीको नजरमा उहाँहरुको शाख दिनप्रतिदिन गुम्दै गएको स्पष्ट हुन्छ ।

जनप्रतिनिधि र कर्मचारीको बारम्बारको भ्रमणलाई लिएर सर्वत्र विरोध हुन थालेपछि चन्द्रागिरि नगरपालिकाको सुशासन समितिले आकस्मिक बैठक बोलायो माघ ६ गते नगरपालिकाको प्रशासकीय भवनमा । त्यस समितिले आफ्नो गल्ती सच्चाउनुको साटो अब उप्रान्त भ्रमण जाँदाको समयमा सकभर फोटो पोष्ट कसैले नगर्ने, गर्नै परेमा आवश्यक बाहेक अनावश्यक फोटो सामाजिक संजालमा पोष्ट नगर्न भनि जनप्रतिनिधि र कर्मचारीलाई उर्दिनै जारी गर्यो । त्यति मात्र होइन बैठकमा भएको सल्लाह बाहिर कोही कसैलाई नभन्न र निर्णय अटेर गरेमा कारवाही गर्ने भनि चेतावनी समेत दिएको बैठकमा सहभागी एक व्यक्तिले नाम नखुलाउने सर्तमा हामीलाई जानकारी दिनुभयो ।

नगरबासीले सामाजिक संजालबाट सच्चिनको लागि दिएको सुझाव के जनप्रतिनिधिलाई विष भएकै हो त ? होइन भने उपलब्धिहीन भ्रमण गरेर किन करोडौं रकम बालुवामा पानी हालेझै घुमेरै सकिरहेका छन् । घुमेर, हेरेर र सिकेर आएको विषयलाई किन नगरपालिमा जनप्रतिनिधि र कर्मचारीले कार्यान्वयनमा ल्याउन सकेनन् । विभिन्न बहानामा घुम्न गएर करोडौं रुपैयाँ सक्नुको साटो नगरबासीको शिक्षा, स्वास्थ्य र रोजगारलाई किन प्राथमिकतामा राख्न चाहदैनन् जनप्रतिनिधिहरु ? कुर्सी र रातो मसीको दुरुपयोग गर्दै रमाउन र कमाउनको लागि मात्रै जनताले भोट हालेर जनप्रतिनिधिलाई निर्वाचित गराएर पठाएका हुन् त ? होइन भने जनप्रतिनिधिले जनताको गुनासोलाई चित्त बुझ्ने हिसाबले सम्बोधन गर्दै सच्चिनुको साटो उल्टै सामाजिक संजालमा फोटो पोष्ट नगर्नु गरे कारवाही गर्छु भन्नु कतिको जायज होला ? जनप्रतिनिधिको यस्तो प्रवृत्तिलाई अब नगरबासीले कसरी बुझ्ने ? यदि नगरलाई समृद्ध बनाउने हो भने कुनै पनि राजनीतिक दलको कार्यकर्ता नभनी यस्तो विषयमा सबैले आवाज उठाउन जरुरी छ अन्यथा श्री पशुपतिनाथले सबैको कल्याण गरुन् भन्ने बाहेक केही भन्न सकिदैन ।




