काठमाडौं । अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्रि दौड प्रतियोगिता २०८० चन्द्रागिरि नगरपालिकाले सम्पन्न गरेको छ । प्रतियोगितामा ४० वटा पालिकाका २४८ जना खेलाडीले सहभागिता जनाएका थिए । सिनियर र जुनियर गरी प्रतियोगितालाई दुई भागमा विभाजन गरिएको थियो । विहान साढे ८ बजेबाट सुरु भएको प्रतियोगिता दिउँसो १ बजे सम्पन्न भएको थियो । प्रतियोगितामा सहभागि खेलाडीहरुले आफु र आफ्नो नगरको नाम राख्न घाम, पानी, खाल्डाखुल्डी, उकालो, ओरालो केही भनेनन् । ४८ जना खेलाडीले राष्ट्रियस्तरमै आफुलाई पनि चिनाए र नगरलाई पनि ।




नेपालमै पहिलो पटक यो प्रकृतिको प्रतियोगिता चन्द्रागिरि नगरपालिकामा हुनु नगरको आन, शान र मानको विषय हो । नगरले यो प्रतियोगिता गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफुलाई चिनाउन सफल पनि भयो । तर, यही खेलकै बीचमा चन्द्रागिरि नगरपालिका भित्र असन्तुष्टि पनि देखियो । चन्द्रागिरि नगरपालिकाका उपप्रमुखसहित नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरु कोही पनि प्रतियोगितामा उपस्थित भएनन् । नगरमा भब्य कार्यक्रम भइरहँदा उपमेयरलगायत एमालेबाट प्रतिनिधित्व गर्ने वडाध्यक्षहरुको अनुपस्थितिले पक्कै पनि नगर र नगरबासीको लागि राम्रो संकेत भने होइन । नगर प्रमुख घनश्याम गिरी र उपप्रमुख बसन्ती श्रेष्ठ बीच विवाद बल्झिएकै हो त ? नगर प्रमुख र उपप्रमुखबीचको मनमुटाव यतिबेला क्रस कन्ट्री दौड प्रतियोगिताबाट छर्लङ बाहिर आएको छ ।

कार्यक्रममा अतिथिहरुले आफ्नो मन्तब्य राख्ने क्रममा चन्द्रागिरि नगरको नाम गौरबका साथ लिन्थे । देशमै पहिलो पटक अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्रि दौड प्रतियोगिता भएको र यहाँ राष्ट्रिय खेलाडीको समेत उपस्थितिले चन्द्रागिरिको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिएको भन्दै अर्को वर्ष आफ्नो पालिकामा पनि यस्ता प्रतियोगिता गर्ने बाचा गर्दथे । तर, कार्यक्रममै उपप्रमुखको उपस्थिति नदेखिँदा नगरबासीमा कौतुहल्ता त देखिन्थ्यो नै, नगरपालिकाले बोलाएका नगरका पाहुनाहरुमा समेत कानेखुशीको विषय बन्न पुग्यो ।

चन्द्रागिरि नगरपालिकाले यो प्रतियोगिता गरेर के पायो ? प्रश्न उठ्न थालेको छ यतिबेला । कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठको उपस्थिति नदेखेपछि हामीले उहाँसँग सम्पर्क गर्यौ, उहाँ आफु व्यस्त रहेको र कार्यक्रममा नआएको भन्दै बाँकी कुरा पछि गरौंला भनि फोन राख्नु भयो । त्यसपछि चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्णप्रसाद खड्गीसँग उपमेयर र अन्य वडाध्यक्षहरु किन कार्यक्रममा आएनन् भनि प्रश्न गर्यौ ? ‘उहाँ भन्नुहुन्छ थाहा छैन । अन्तर नगरपालिका राष्ट्रिय क्रस कन्ट्रि दौड प्रतियोगिता चन्द्रागिरि नगरपालिकाले गर्ने भनि कार्यपालिकाको बैठकबाटै अनुमोदन गरिएको हो, उहाँहरुलाई के कुरामा चित्त बुझेन थाहा छैन ।’

कुरा जे जस्तो भएपनि घर भित्रको कुरा घरमै भए राम्रो हुन्छ । तर, नगरपालिकाले प्रतियोगिता गरेर राम्रो गर्न खोज्दा नराम्रो हुनु पक्कै पनि राम्रो होइन । सधै सबै विषय राजनीतिबाटै हेरिने हो भने नगर र नगरबासीको भविष्य अन्धकार बन्ने निश्चित छ । राजनीति गर्नुपर्छ नगर र जनताको लागि । तर, यतिबेला नगरभित्र अस्तित्वको लडाइँले नगर बदनाम हुन पुगेको छ । जुंगाको लडाइँले हामीलाई कहि कतै पुर्याउँदैन । त्यसैले आफ्नो गल्ती स्वीकार्दै कार्यकर्ता र आफ्नो लागि होइन नगर र नगरबासीको लागि इमान्दार भएर काम गर्न जरुरी छ ।



