राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम नगर अधिवेशन आज चन्द्रागिरि नगरपालिकामा सम्पन्न भएको छ । पार्टी संगठन विस्तार तथा स्थानीय तहमा जनसम्पर्क मजबुत बनाउने उद्देश्यसहित अधिवेशन आयोजना गरिएको हो ।अधिवेशनमा पार्टीका केन्द्रीय नेता, जिल्ला प्रतिनिधि, नगरस्तरीय पदाधिकारी तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै नेताहरूले वैकल्पिक राजनीतिक शक्तिको रूपमा रास्वपाले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीति अघि बढाइरहेको बताएका थिए ।
अधिवेशनले आगामी संगठनात्मक रणनीति, स्थानीय तहमा पार्टी विस्तार, जनसरोकारका मुद्दा तथा राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको जनाएको छ । साथै नगरस्तरीय नयाँ नेतृत्व चयन तथा विभिन्न प्रस्तावहरू पारित गरिएको जानकारी दिइएको छ ।कार्यक्रममा सहभागी वक्ताहरूले चन्द्रागिरि क्षेत्रमा पार्टीप्रतिको जनआकर्षण बढ्दै गएको दाबी गर्दै आगामी निर्वाचनमा बलियो उपस्थितिका लागि कार्यकर्तालाई सक्रिय रूपमा परिचालन हुन आग्रह गरेका थिए । रास्वपाले देशभर संगठन विस्तार अभियानलाई तीव्र बनाइरहेका बेला चन्द्रागिरिमा सम्पन्न प्रथम नगर अधिवेशनलाई स्थानीय स्तरमा महत्वपूर्ण राजनीतिक गतिविधिका रूपमा हेरिएको छ ।






