काठमाडौं । चन्द्रागिरि नगरपालिकामा समुदायमा आधारित रोग निगरानी प्रणालीसम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । स्थानीय तहमा रोगको प्रारम्भिक पहिचान, रिपोर्टिङ र नियन्त्रणलाई अझ प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उदघाटन गर्दै नगरप्रमुख घनश्याम गिरीले समुदाय स्तरमै रोगको पहिचान र निगरानी सुदृढ गर्नु अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीहरूलाई समुदायसँग नजिक रहेर काम गर्न आग्रह गर्दै यस्ता कार्यक्रमले स्थानीय स्वास्थ्य प्रणालीलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उपप्रमुख बसन्ती श्रेष्ठले जनस्वास्थ्य सुरक्षाका लागि समयमै सूचना संकलन र विश्लेषण महत्वपूर्ण हुने बताउनुभयो । उहाँले रोग फैलिन नदिन प्रारम्भिक चरणमै सतर्कता अपनाउन समुदायमा आधारित निगरानी प्रणाली प्रभावकारी माध्यम बन्न सक्ने धारणा राख्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत जग्दिशचन्द्र नेपालीले स्थानीय सरकारको प्राथमिकतामा स्वास्थ्य सेवा रहेको बताउँदै यस प्रकारका तालिमले स्वास्थ्यकर्मीहरूको क्षमता अभिवृद्धि हुने बताउँदै प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह समेत गनुभयो ।

उदघाटन सत्रमा नगर प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गी, सामाजिक विकास समितिका संयोजक घनश्याम लुइँटेल लगायतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नगरका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूको उल्लेख्य उपस्थिति रहेको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त अभिमुखीकरण कार्यक्रममा समुदायमा आधारित रोग निगरानी प्रणालीका आधारभूत अवधारणा, रोगको प्रारम्भिक संकेत पहिचान, तथ्यांक संकलन तथा रिपोर्टिङ प्रणाली तथा आपतकालीन अवस्थामा समन्वय गर्ने तरिकाबारे प्रशिक्षण दिइने जनाइएको छ । कार्यक्रम The Pandemic Fund र UNICEF लगायतको सहयोगमा सञ्चालन भएको हो ।

कार्यक्रमबाट स्वास्थ्यकर्मीहरूलाई समुदायमै पुगेर रोगको निगरानी तथा नियन्त्रणमा थप दक्ष बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय