काठमाडौं । सभामुख डोलप्रसाद अर्यालको उपस्थितिमा चन्द्रागिरि नगरपालिकामा आयोजित समसामयिक विषय तथा विकास निर्माणसम्बन्धी विशेष अन्तक्र्रिया कार्यक्रमले स्थानीय विकास, सुशासन र जनअपेक्षाका विषयलाई केन्द्रमा राख्दै गम्भीर बहसको रूप लिएको छ । आइतबार नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा संघीय शासन प्रणालीअन्तर्गत स्थानीय तहले सामना गरिरहेका चुनौती, विकास योजनाको प्रभावकारिता, सेवा प्रवाहको अवस्था तथा नागरिकको बढ्दो अपेक्षाबारे स्पष्ट र खुला छलफल भएको थियो ।

सभाहलमा उपस्थित जनप्रतिनिधि, प्रशासनिक अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा कर्मचारीहरूको सक्रिय सहभागिताले विकासका विषय अब कागजी योजना भन्दा कार्यान्वयनको चरणमा कसरी प्रभावकारी बनाउने भन्ने चिन्तालाई स्पष्ट पारेको देखिन्थ्यो । कार्यक्रममा सहभागी अधिकांश वक्ताले विकास निर्माणमा ढिलासुस्ती, योजनाको असमान कार्यान्वयन तथा जनताको अपेक्षाअनुसार परिणाम नदेखिएको अवस्थाप्रति चिन्ता व्यक्त गरेका थिए ।

सभामुख डोलप्रसाद अर्यालले विकासलाई केवल सडक, भवन वा संरचना निर्माणसँग मात्र जोडेर हेर्न नहुने बताएका थिए । उनले जनताको दैनिकी सहज बनाउने, शिक्षा र स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने योजनाहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले जनताले विकासको अनुभूति आफ्नै घरआँगनमा गर्न पाउनु पर्ने बताउँदै योजना कागजमा सीमित हुने होइन, नागरिकको जीवनमा परिवर्तन ल्याउने खालको हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी सांसद प्रदिप विष्टले चन्द्रागिरि क्षेत्र तीव्र शहरीकरणको दबाबमा रहेको उल्लेख गर्दै व्यवस्थित विकास योजना आवश्यक रहेको बताउनु भयो । उहाँले सडक विस्तार, खानेपानी व्यवस्थापन, सार्वजनिक यातायात, ढल निकास तथा वातावरण संरक्षणलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो ।

त्यसैगरी सांसद भूमिका श्रेष्ठले नगरस्तरमा सीपमूलक तालिम, महिला उद्यमशीलता र युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम प्रभावकारी बनाउनुपर्ने धारणा राख्नुभयो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलले विकास निर्माणसँगै शान्ति सुरक्षा र प्रशासनिक समन्वयको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले तीव्र शहरीकरणसँगै सुरक्षा चुनौती पनि बढिरहेको उल्लेख गर्दै स्थानीय सरकार, प्रशासन र सुरक्षा निकायबीच समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिकाले पछिल्लो समय शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, सरसफाइ, सामाजिक सुरक्षा तथा डिजिटल सेवा विस्तारमा उल्लेखनीय काम गरिरहेको जानकारी दिनुभयो । उहाँले नगरलाई व्यवस्थित, सुरक्षित र आधुनिक शहरका रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न योजना अघि बढाइएको पनि दाबी गर्नुभयो ।

उहाँले नगरवासीको अपेक्षा बढ्दो रहेको स्वीकार गर्दै सीमित स्रोत र बढ्दो जनचापबीच पनि सेवा प्रवाहलाई प्रभावकारी बनाउने प्रयास भइरहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय