काठमाडौं । चन्द्रागिरि नगरपालिका अन्तर्गत नेपाल आयल निगम जाने बाटो नजिक रहेको विद्युत् पोलमा जडान गरिएका तारमा आगलागी भएको छ । अचानक तारबाट धुवाँ र आगो निस्किन थालेपछि आसपासका स्थानीय त्रसित बनेका थिए ।



घटनाको जानकारी प्राप्त हुनासाथ स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा नगरपालिकाको दमकल घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएका थिए । समयमै आगो नियन्त्रणमा आएकाले ठूलो दुर्घटना हुनबाट जोगिएको बताइएको छ । स्थानीयका अनुसार विद्युत् पोलमा विभिन्न सेवा प्रदायक कम्पनीका तारहरू अत्यधिक र अव्यवस्थित रूपमा जडान गरिएकाले यस्ता घटना बारम्बार दोहोरिन थालेका छन् । पोलमा झुण्डिएका तारहरू एकआपसमा जेलिने, पुराना तार समयमै हटाइँदैनन् र मर्मतसम्भारमा पनि पर्याप्त ध्यान नदिइने कारण जोखिम बढ्दै गएको उनीहरूको भनाइ छ ।
विशेषगरी इन्टरनेट तथा केबल सेवा प्रदायकहरूले प्रयोग गरेका तारहरूको व्यवस्थापन प्रभावकारी नहुँदा सर्ट सर्किट, स्पार्किङ तथा आगलागीका घटना बढ्न सक्ने स्थानीयहरूको दाबी छ । नगरपालिकाले पटक–पटक तार व्यवस्थित गर्न आग्रह गरे पनि सम्बन्धित सेवा प्रदायक कम्पनीहरूले त्यसलाई गम्भीरतापूर्वक नलिएको गुनासोसमेत स्थानीयहरूले गरेका छन् । विद्युत् पोलमा हुने यस्ता आगलागीले नजिकका घर, पसल तथा सर्वसाधारणको सुरक्षामा समेत खतरा बढाउने भएकाले सम्बन्धित निकायले कारणको वैज्ञानिक अध्ययन गरी दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता देखिएको छ । स्थानीयहरूले अव्यवस्थित तार हटाउने, पुराना तार प्रतिस्थापन गर्ने र नियमित अनुगमनलाई प्रभावकारी बनाउन माग गरेका छन् ।
पछिल्ला वर्षहरूमा विभिन्न स्थानका विद्युत् पोल तथा तारमा आगलागीका घटना दोहोरिँदै आए पनि यसको स्थायी समाधानका लागि प्रभावकारी कदम नचालिएको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले यस्ता घटनालाई सामान्य रूपमा नलिई समयमै व्यवस्थापन नगरे भविष्यमा ठूलो दुर्घटना निम्तिन सक्ने चेतावनी दिएका छन् ।



