काठमाडौं । आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान देशभर सुरु भएको छ ।

दादुरा–रुबेला खोप अभियानमा ९ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाइने छ । आजबाट सुरु भएको अभियानमा देशका ५७ लाख ८२ हजार ९ सय ९३ बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाइने छ । यो खोप नेपालभरका ४८ हजार ७ सय ९८ केन्द्रबाट लगाइने छ । चन्द्रागिरि नगरपालिकामा मात्रै ९१ वटा खोप केन्द्र रहेका छन् । उक्त खोप केन्द्रबाट ३५ हजार बालबालिकालाई दादुरा–रुवेला खोप लगाइने छ । नगरपालिकाले आइतबार चन्द्रागिरि वडा नम्बर–४ मा रहेको चुनदेवी माध्यमिक विद्यालयमा औपचारिक कार्यक्रम गर्दै अभियानको शुभारम्भ गरेको हो । अभियानको क्रममा नगर प्रमुख घनश्याम गिरीले नगरवासीको स्वस्थ जीवन यापनका लागि नगरपालिकाले उच्च प्राथमिकता दिँदै स्वास्थ्यका विभिन्न कार्यक्रम संचालन गरिरहेको बताउनु भयो । उहाँले आजदेखि सुरु भएको ‘दादुरा रुवेला खोप अभियान २०८०-०८१ ’लाई सफल बनाउन नगरबासीलाई आह्वान गर्दै आफूलाई पायक पर्ने खोप केन्द्रमा आफ्ना बालबालिकालाई दादुरा रुवेला खोप लगाउन सबै नगरवासीलाई आग्रह गर्नुभयो ।

दादुरा–रुबेला खोप अभियान फागुन १३ देखि चैत ७ गतेसम्म संचालन हुनेछ । नियमित खोप लगाउन छुटेका बालबालिकालाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको छ । यसअघि सन् २०१८ मा दादुरा रोग नियन्त्रणमा आएको बताइए पनि सन् २०२३ मा यसले धेरै जिल्लाहरुमा प्रकोपको रुप लिएपछि सरकारले पुनः खोप अभियान चलाएको हो । अब सन् २०२६ भित्र दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्य सरकारको रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय