काठमाडौं । चन्द्रागिरि नगरपालिका भित्र रहेका कृष्ण मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५ मा रहेको राधाकृष्ण मन्दिर, विष्णुदेवीको कृष्ण मन्दिर चन्दन भराटेश्वर महादेव मन्दिर परिसरमा रहेको कृष्ण मन्दिरलगायतका क्षेत्रमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ ।
कृष्ण जन्मोत्सवमा पहिले श्रीकृष्ण जन्मलीलाको अवसरमा सडक नाटक समेत प्रस्तुत गर्ने गरिन्थ्यो । तर, अहिले विस्तारै नाटक गर्ने चलन हटेसँगै अधिकांश विद्यालयले विद्यार्थीलाई कृष्णको प्रतिकको रुप बनाई कृष्णको महिमा बर्णन गर्ने गरिन्छ ।




भारतको उत्तरप्रदेशमा रहेको मथुराको कारागारमा वासुदेव–देवकीका आठौँ सन्तान मानिने श्रीकृष्ण जन्मनासाथ सबै सुरक्षाकर्मी लठ्ठिएर सुतेका र सो बेला सबै द्वार आफैँ खुलेको श्रीमद्भागवतमा वर्णन गरिएको छ । मथुराका तत्कालीन राजा कंशको प्रहारबाट बचाउन राति नै वासुदेवले श्रीकृष्णलाई बोकेर गोकुल बस्तीका ग्वालराज नन्दकी रानी यशोदाको काखमा राखी दिएर त्यहाँ जन्मिएकी कन्या लिएर कारागार फर्केका शास्त्रीय कथा भन्ने, सुन्ने गरिन्छ । श्रीकृष्ण जन्मोत्सवमा भदौ कृष्ण अष्टमी तिथि सुरु भएपछि ब्रत बस्ने र मध्यरातमा श्रीकृष्ण जन्मेको मान्यताअनुसार मंगलगान गर्दै ब्रत समापन गर्ने परम्परा छ ।



