काठमाडौं । प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र सांस्कृतिक महत्वले भरिपूर्ण चन्द्रागिरि क्षेत्रको घट्टेडाँडा यतिबेला भक्तिमय वातावरणले गुञ्जिरहेको छ । चन्द्रागिरि नगरपालिका–२, वाडभञ्ज्याङस्थित राधाकृष्ण मन्दिर परिसरमा संचालन भइरहेको ‘पुरुषोत्तम माहात्म्य ज्ञान महायज्ञ एवं चन्द्रागिरि धार्मिक महामहोत्सव–२०८३’ ले स्थानीय क्षेत्रलाई आध्यात्मिक चेतना र धार्मिक उत्साहको केन्द्र बनाएको छ ।




चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का कार्यबहाक वडा अध्यक्ष चन्द्रकुमारी गिरी बस्नेतले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस धार्मिक महामहोत्सवले मन्दिरको दीर्घकालीन संरक्षण, नियमित पूजा–आराधना तथा भावी पुस्ताका लागि धार्मिक सम्पदाको जगेर्ना गर्ने अभियानलाई थप बल पुर्याएको बताउनु भयो ।
यस्तै वडा सदस्य लवराम सुवेदीले हरियाली वन, शान्त वातावरण र काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने घट्टेडाँडा धार्मिक पर्यटनको दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त क्षेत्र रहेको र यहाँ अवस्थित राधाकृष्ण मन्दिर वर्षौंदेखि श्रद्धालु भक्तजनको आस्थाको केन्द्र रहँदै आएको समेत जानकारी दिनुभयो ।
महामहोत्सवमा दैनिक रूपमा पुरुषोत्तम माहात्म्य कथाको श्रवण, भजन–कीर्तन, आरती तथा विविध धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन् । श्रद्धालुहरू बिहानदेखि साँझसम्म मन्दिर परिसरमा पुगेर कथा श्रवण, दर्शन र पूजाआजामा सहभागी भइरहेका छन् ।

कार्यक्रममा प्रख्यात कथा वाचक पण्डित विजय सिग्देलद्वारा संगीतात्मक शैलीमा पुरुषोत्तम माहात्म्य कथाको वाचन भइरहेको छ । धर्म, नैतिकता, मानवता र आध्यात्मिक जीवनका विविध पक्षलाई समेटिएको कथाले श्रोतालाई भावविभोर बनाइरहेको छ । आयोजक समितिले सम्पूर्ण धर्मप्रेमी, श्रद्धालु, समाजसेवी तथा नेपालीहरूलाई एकपटक घट्टेडाँडा पुगेर धार्मिक महामहोत्सवमा सहभागी हुन आग्रह गरेको छ ।
आस्था, अध्यात्म, प्रकृति र संस्कृतिको अनुपम संगम बनेको घट्टेडाँडाको यो धार्मिक महामहोत्सव केवल एउटा कार्यक्रम मात्र नभई भावी पुस्तालाई धर्म, संस्कृति र सभ्यताको अमूल्य विरासत हस्तान्तरण गर्ने साझा अभियानका रूपमा समेत हेरिएको छ । श्रद्धा र भक्तिको यही महाउत्सवमा सहभागी भई पुण्य लाभ प्राप्त गर्न तथा धार्मिक सम्पदा संरक्षणको अभियानमा हातेमालो गर्न सबैलाई ‘पुरुषोत्तम माहात्म्य ज्ञान महायज्ञ एवं चन्द्रागिरि धार्मिक महामहोत्सव–२०८३’ का संयोजक रामकाजी सुवेदीले आग्रह गर्नुभयो ।



