काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को चैत्र मसान्तसम्म सम्पादित कार्य तथा सेवा प्रवाहको प्रभावकारिता सम्बन्धी सार्वजनिक सुनुवाई गरेको छ ।
नगरपालिकाको प्राङ्गण बलम्बुमा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाको आर्थिक वर्ष २०८१-०८२ को साउन देखि चैत्र मसान्तसम्मको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । नगरपालिकाको प्रतिवेदन अनुसार १२ सय ४३ स्वीकृत आयोजनामा जम्मा ५ सय ५ वटा मात्र सम्झौता भएको उल्लेख गरेको छ । जसमध्ये १ सय ९० वटा काम सम्पन्न भएको र २ सय ५६ वटा काम भइरहेको नगरपालिकाले जनाएको छ । स्वीकृत कुल आयोजनाको ५ सय ५३ वटा योजना भने सम्झौता नै हुन सकेको छैन ।



कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरले नगरको विभिन्न शाखाबाट भएका गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । उहाँले नगरपालिकाको स्वीकृत बजेट २ अर्ब ८१ करोड ३५ लाख रहेकोमा हालसम्म १ अर्ब ३९ करोड १ लाख ९५ हजार ८ सय १४ रुपैयाँ आम्दानी भएको जानकारी गराउनु भयो ।
नगरपालिकाको चालु खर्च अन्तरगत ५९ करोड ४३ लाख २३ हजार ३ सय ८८ रुपैयाँ र पूँजीगत तर्फ ३१ करोड ९१ लाख ६७ हजार २ सय ९९ रुपैयाँ गरेर कुल ९१ करोड ३४ लाख ९० हजार ६ सय ८७ रुपैयाँ खर्च भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८१–०८२ को चैत्र मसान्तसम्म २० करोड ९५ लाख ४२ हजार ४ सय ६८ रुपैयाँ ५६ पैसा कर संकलन भएको र घरजग्गा रजिस्टेसनबाट २५ करोड ४९ लाख ९ हजार ३ सय ३ रुपैयाँ संकलन भएको जनाएको छ ।
(यस्तो छ चन्द्रागिरि नगरपालिकाको प्रगति विवरण)






