काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को सम्पादित कार्य तथा सेवा प्रवाह सम्बन्धी सार्वजनिक सुनुवाई गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा बाटो, ढल, पानी, जग्गा विवाद, सार्वजनिक जग्गा संरक्षण लगायतका विषयमा प्रश्न उठेका थिए ।
सार्वजनिक सुनुवाईमा नगरबासीको उपस्थिति किन कम भयो भन्ने प्रश्नमा नगरप्रमुख घनश्याम गिरीले नगरको कामप्रति सन्तुष्ट हुँदै गएकाले सार्वजनिक सुनुवाईमा नगरबासीको सहभागीता कम हुँदै गएको आफूले महसुस गरेको जवाफ दिनुभयो ।



सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख गिरीले नगरको गौरबको योजनाअन्तरगत नैकापको विष्णुदेवी मन्दिर, इन्द्रदहको कालुपाण्डे समाधिस्थल, मातातीर्थ कुण्डलगायतलाई नगरले प्राथमिकताका साथ अघि बढाएको बताउनु भयो ।
यस्तै खानेपानीको विषयमा प्रमुख गिरीले नगरबासीलाई समानरुपमा खानेपानी उपलब्ध गराउन लागि परेको र तत्कालको लागि समितिहरुबाटै खानेपानी वितरणको व्यवस्था मिलाएको पनि जानकारी गराउनु भयो । उहाँले खानेपानीमा नगरको १५ वटा वडा मध्ये सबैभन्दा बढी प्रताडित १२ नम्बर वडा रहेकोले पानीको सहजताको लागि ३ करोड रुपैयाँ छुट्याएर राखेकोले अब छिट्टै नै समस्या समाधान हुने आश्वासन दिनुभयो ।
साथै उज्यालो चन्द्रागिरि, ज्येष्ठ नागरिक, शिक्षालाई विशेष प्राथमिकता राखी काम गरिरहेको पनि तर्क गर्नुभयो । जवाफकै क्रममा प्रमुख गिरीले नगरको प्रमुख समस्या मध्ये फोहोर व्यवस्थापन भएकोले सकेसम्म घरघरबाट निस्किएका फोहोरलाई आफै व्यवस्थापन गरी फोहोरबाट मोहर बनाउन नगरबासीलाई आग्रह गर्नुभयो । उहाँले फोहोर व्यवस्थापनको लागि नगरपालिकाले उपलब्ध गराएको कम्पोष्टविनको गलत प्रयोग हुँदा तत्कालका लागि कम्पोष्टविन वितरण बन्द गरिएको पनि जानकारी दिनुभयो ।
ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको सहजीकरणमा भएको सार्वजनिक सुनुवाईमा उप्रमुख बसन्ती श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक एलिजा गिरी, बलम्बु प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी खड्का, एपीएफ बलम्बुका प्रतिनिधि, नगरबासी, नगरका कर्मचारी, संचारकर्मीलगायतको उपस्थिति रहेको थियो ।



