काठमाडौं । चन्द्रागिरि नगरपालिका बक्सिङ संघको प्रथम वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष कविन्द्र महर्जनको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।




संघको प्रथम वार्षिक साधारण सभामा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले खेलाडीकै कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नगरपालिकालाई मात्र नभई देशलाई नै समेत चिनाएको बताउनु भयो । उहाँले चन्द्रागिरि नगरपालिका भित्र रहेका धेरै खेलाडी स्वदेश तथा विदेशमा गएर विभिन्न खेलबाट पदक जितेर ल्याएकोले देशेसँगसँगै नगरको नाम पनि उच्च राखेको उल्लेख गर्नुभयो । उहाँले आफु पनि खेल क्षेत्रबाटै आएको र त्यतिबेला खेल खेल्दा लुकेर खेल्नुपर्ने अवस्था रहेको स्मरण गर्दै अहिले छोटो समयमै खेल जगत सोचेभन्दा धेरै माथि पुगेको बताउनु भयो ।

कार्यक्रममा उपप्रमुख बसन्ती श्रेष्ठले खेल क्षेत्रमा लागेका व्यक्तिहरु अनुशासित हुने भएकोले अहिलेका यूवाहरुलाई खेलतर्फ नै आकर्षित गराउनु पर्ने बताउनु भयो । उहाँले अहिले अधिकांश यूवा दुव्र्यवसनीमा फसेकोले उनीहरुलाई यसबाट निकाल्न खेलकुद नै प्रमुख सारथी हुन सक्ने उल्लेख गर्नुभयो ।

यस्तै समाजसेवी रवीन्द्र रिजालले बेलायतमा काम गर्ने नेपाली सेनाबाट नेपाल भित्रिएको यो बक्सिङ खेल अहिले गाउँ गाउँ, टोलटोलमा भित्रिएको बताउनु भयो । उहाँले चन्द्रागिरि नगरपालिका भित्र बक्सिङका खेलाडी मात्र नभई धेरै खेलसँग सम्बन्धित व्यक्ति र व्यक्तित्व चन्द्रागिरि नगरपालिका भित्र रहेको बताउनु भयो । रिजालले चन्द्रागिरि नगरपालिका भौगोलिक, ऐतिहासिक र सांस्कृतिक सम्पदामा मात्र नभई खेल र खेलाडीले पनि नगरपालिकालाई चिनाउन मद्दत पुगेको बताउनु भयो ।
साथै नवनियुक्त पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गरिनुका साथै मायाँको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रवक्ता कृष्ण प्रसाद खड्गी, जनप्रतिनिधि, यूवा व्यवसायी इश्वर लामा, समाजसेवीलगायतको उपस्थिति रहेको थियो ।




