काठमाडौं । चन्द्रागिरि नगरपालिकाले कीर्तिपुरस्थित जलन अस्पतालको उपचार सेवामा सहयोग पुर्याउने उद्देश्यले ११ वटा बेड उपलब्ध गराएको छ ।
चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले अस्पताल व्यवस्थापनलाई बेड हस्तान्तरण गर्दै स्वास्थ्य सेवा सुदृढीकरणका लागि स्थानीय तहको सहकार्य आवश्यक रहेको बताउनु भयो । उहाँले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यअनुसार आगामी दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तर अघि बढाइने उल्लेख गर्नुभयो ।



अस्पतालले प्राप्त सहयोग गरेसँगै चन्द्रागिरि नगरपालिकाप्रति आभार व्यक्त गर्दै नयाँ शैय्याले बिरामीको उपचार व्यवस्थापनलाई थप सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । अस्पतालले उपचारका लागि आउने बिरामीको चापलाई व्यवस्थापन गर्न यस्ता सहयोग उपयोगी हुने अपेक्षा समेत गरेको छ ।
चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै अस्पताल तथा अन्य स्वास्थ्य संस्थासँग आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिँदै आएको जनाएको छ ।



