काठमाडौं । चन्द्रागिरि नगरपालिका दुई साता देखि हाकिम विनाको नगरपालिका भएको छ । तत्कालिन प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले लोक सेवाबाट सहसचिव पदमा नाम निकालेर सरुवा भएसँगै चन्द्रागिरि नगरपालिकामा हाकिमको कुर्सी खाली भएको हो ।

तत्कालिन प्रमुख प्रशासकीय अधिकृत अर्याल चन्द्रागिरिबाट सरुवा भएर जाँदै गर्दा नगरपालिकाले मिति २०८१ फागुन ५ गते राखेको फेरि भेटौंला विशेष कार्यक्रममा नगरप्रमुख घनश्याम गिरीले अब आउने प्रमुख प्रशासकीय अधिकृत भुवनेश्वर लामिछानेको लिखित परीक्षा लिने र पास भएमात्र नगरपालिकामा हाजिर गर्न दिने भन्ने अभिव्यक्तिपछि नगरपालिकामा दुई सातादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुन पुगेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले फागुन १ गते उपसचिव भुवनेश्वर लामिछानेलाई चन्द्रागिरि नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको थियो । नगर प्रमुख गिरीले दिएको त्यस्तो अभिव्यक्तिपछि लामिछाने नगरपालिकामा हाजिर हुन नआएको भन्ने खुलेको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिकाको प्रशासनिक देखि लेखासम्मको सम्पूर्ण काम ठप्प छ । जसले गर्दा अहिले नगरपालिकामा विगत दुई सातादेखि कुनै पनि खरिद तथा योजनाको भुक्तानी हुन सकेको छैन । अबको केही दिनमा प्रमुख प्रशासकीय अधिकृत नगरपालिकामा हाजिर हुन नआए कर्मचारीहरु पनि तलबविहीन हुनेछन् ।

कर्मचारी भन्छन्, ‘प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरको सबै कामकाज ठप्प भएको र पछिल्लो समय नगरपालिकामा काम गर्ने वातावरण पनि नबनेको भन्दै अधिकांश काम गर्ने कर्मचारी नगरपालिकाबाट सरुवा हुन खोजेको बताउँछन् । नगरपालिका गलत बाटोमा लाग्यो, कर्मचारीले नगर र नगरबासीकै हकहितमा काम गर्ने हो । तर, प्रमुख प्रशासकीय अधिकृतलाई अपहरण शैलीबाट बाटोमै अपहरण गर्न खोजियो, जसको प्रतिफल हाकिमको कुर्सी खालि भयो । नगरपालिकामा आवश्यक भन्दा पनि अनावश्यक कर्मचारी थुप्रिदा भएका राम्रा कर्मचारीहरुको पनि कामको मूल्यांकन हुन सकेन ।’

प्रमुख प्रशासकीय अधिकृत नगरपालिकामा नहुँदा नगरको सम्पूर्ण काम ठप्पभएसँगै नगरबासीमा विभिन्न शंकाउपशंका उब्जिन थालेको छ । कोही भन्छन्, अहिले आउन लागेका प्रमुख प्रशासकीय अधिकृत लामिछाने एमाले निकट हुनसक्छन् । त्यसैभएर मेयर घनश्याम गिरीले रोक्न खोजे । यदि जनताले सोचको जस्तै एमाले, काँग्रेस, माओवादीलगायत अन्य पार्टीले जितेको ठाउँमा आफु निकट कर्मचारी मात्र लाने हो भने कसरी बन्छ समृद्ध नगर ? त्यसैले सबैले आफुले गरेको कमी कमजोरीलाई स्वीकार्दै नगर र नगरबासीको भविष्यको लागि सोच्ने बेला आएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय