काठमाडौं । भूगर्भविद्हरुले खतरापूर्ण क्षेत्रमा भौगर्भिक अध्ययनबिना बोरिङ कार्य गरिए परिणाम घातक हुने चेतावनी दिएका छन् । गत बैशाख १९ गते मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६, गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमीनमा भासिएको थियो ।
गाडी नै दलदलमा फसेको चर्चामा रहेको यो विषयले कुनै पनि संरचना निर्माण गर्दा भौगर्भिक अध्ययन विना नगर्न सचेत गराइएको छ । झापाका भद्रपुर, दमक, मोरङको विराटनगर, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुरधाम, महोत्तरीको बर्दिबास, जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौंडा, काठमाडौं र नुवाकोटमा जमीन भासिने खतरा रहेको भूगर्भविद्हरुको अध्ययनले देखाएको छ ।



यसैबीच, चन्द्रागिरि नगरपालिका भित्र पनि बोरिङको मात्रा बढ्दै गएको छ । अहिले पनि निजी तथा खानेपानी समितिका नाममा बोरिङ खन्ने काम भइरहेको छ । केही खानेपानी समितिले थप बोरिङका लागि पहलसमेत गरिरहेका छन् । चन्द्रागिरि नगरपालिका वडा नम्बर ५, ६ र ७ लाई प्राथमिकतामा राखेर पानी खुवाउँदै आएको महादेवस्थान मातातीर्थ सरसफाई तथा उपभोक्ता समितिले खानेपानीको नाममा विकल्प नखोजी वडा ६ र ७ का वडा अध्यक्ष संजय सिग्देल, शम्भुकुमार केसी र वनका अध्यक्ष निराजन महतलाई वन क्षेत्रमा थप बोरिङ गर्नको लागि दबाब दिंदै आएको छ । सामुदायिक वनमा थप बोरिङ खन्ने विषयमा भने वनका अध्यक्ष महत भने मौन बसेका छन् ।
चन्द्रागिरि नगरपालिकामा अहिले तीन ठाउँमा बोरिङ खन्ने काम भइरहेको छ । खानेपानीको लागि व्यवसायिक रुपमा बोरिङ खन्दै आएका व्यक्ति वा खानेपानी समिति हुन् या नगरपालिकाको एक मात्र विकल्प बोरिङमा मात्र ध्यान जाँदा कुनै दिन चन्द्रागिरिमा पनि जमीन भासिएर ठूलै दुर्घटना नहोला भन्न सकिदैन ।
भूगर्भविद्हरुले जमीन भासिने समस्या देशका धेरै ठाउँमा रहेको प्रस्ट पार्दै भौगर्भिक अध्ययन गरेर मात्रै भौतिक संरचना निर्माण गर्नुपर्ने सुझाव दिएका छन् । यदि अध्ययनबिना आफूखुशी बोरिङ खनिए भविष्यमा गम्भीर परिस्थितिको सामना गर्न नपर्ला भन्न सकिन्न । त्यसैले यस विषयमा स्थानीय निकाय भने गम्भीर हुन जरुरी छ ।



