काठमाडौं । चन्द्रागिरि नगरपालिकाले नगरबासीको स्वास्थ्यलाई मध्यनगर गर्दै बजार अनुगमनलाई तीब्रता दिएको छ । नगरपालिकाको उपप्रमुख बसन्ती श्रेष्ठको नेतृत्वमा नगरको उद्योग, वाणिज्य तथा व्यवसाय प्रवद्र्धन शाखाले बजार अनुगमनलाई तीब्रता दिएको हो । चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ मा संचालनमा रहेका मिनरल वाटर उद्योगहरुमा अनुगमन गरिएको थियो । उद्योगहरुले बजारमा विक्री गर्दैआएका जारका खानेपानीको गुणस्तर चेकजाँचको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको घुम्ती खाद्य प्रयोगशाला नै सम्बन्धित उद्योगहरुमा लगेर चेकजाँच गरिएको थियो ।



अनुगमनको क्रममा अन्नपूर्ण मिनरल वाटर इण्डष्ट्रिज, रोयल स्प्रिङ मिनिरल वाटर एण्ड वेभरेज प्राइभेट लिमिटेड, हिमाल मिनरल वाटर उद्योग प्रालि, दुवा फूड प्रोडक्ट एण्ड वेभरेज प्रालि, सगरमाथा फुड एण्ड बेभरेज प्रालिलगायतका उद्योगहरुमा पानीको गुणस्तर चेकजाँच गरिएको थियो । चेकजाँचको क्रममा अधिकांश उद्योगले विक्री गर्दैआएको खानेपानीमा त्यस्तो कुनै समस्या नदेखिएपनि उद्योगहरुले बजारमा लानको लागि तयारी अवस्थामा राखेको पानीका केही जारहरु भने पुरानो, फोहोर भेटिएको थियो । पानी, पुरानो र फोहोर जारलाई नष्ट गर्दै आगामी दिनमा यस्ता किसिमको पानीको जारलाई बजार नपठाउन र भेटिएमा कानूनअनुसार कारवाही गरिने उपप्रमुख श्रेष्ठले व्यवसायीलाई चेतावनी समेत दिनुभएको थियो । चन्द्रागिरि नगरपालिका, चन्द्रागिरि हित संरक्षण समिति, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय, सुरक्षाकर्मी, नगरप्रहरी, संचारकर्मीलगायत प्रतिनिधिको रोहवरमा अनुगमन गरिएको थियो ।



