काठमाडौं — चन्द्रागिरि नगरपालिका औपचारिक रूपमा ‘बालश्रममुक्त स्थानीय तह’ घोषणा गरिएको छ। काठमाडौँ जिल्लामा यस प्रकारको मान्यता प्राप्त गर्ने चन्द्रागिरि सम्भवतः पहिलो नगरपालिका बनेको जनाइएको छ। आज आयोजित विशेष कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे तथा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले संयुक्त रूपमा नगरपालिकालाई बालश्रममुक्त घोषणा गरे।
यसअघि चन्द्रागिरिका सबै १५ वटै वडालाई क्रमशः ‘बालश्रममुक्त वडा’ घोषणा गरिसकिएको थियो। नगरपालिकाका अनुसार विसं २०७९ असार २ गते वडा नम्बर १४ लाई पहिलो बालश्रममुक्त वडा घोषणा गरिएको थियो भने पछिल्लोपटक विसं २०८२ भदौ १५ गते वडा नम्बर १ बालश्रममुक्त घोषित भएसँगै सम्पूर्ण नगरपालिका बालश्रममुक्त बन्न सफल भएको हो। बालबालिकालाई श्रममा प्रयोग नगर्ने, विद्यालयमा पहुँच सुनिश्चित गर्ने र बालअधिकार संरक्षण गर्ने उद्देश्यसहित विभिन्न सचेतना कार्यक्रम, अनुगमन र सहकार्यमार्फत यो उपलब्धि हासिल गरिएको नगरपालिकाले जनाएको छ।



घोषणा कार्यक्रममा परम्परागत बाजागाजासहित नगरपरिक्रमासमेत गरिएको थियो। नगरपालिकाले आगामी दिनमा पनि बालश्रम पुनः नदोहोरोस् भन्ने उद्देश्यले निरन्तर अनुगमन र सचेतना कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।



