काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा–७ को वडा कार्यालयको भवन निर्माणको संकेत देखिएको छ । २०८२ साउन १८ गतेको मन्त्रिपरिषद् बैठकले काठमाडौं जिल्ला थानकोट महादेवस्थान–८ कित्ता नम्बर १, नक्सा सिट नम्बर ८ख को २२ रोपनी ११ आना जग्गामध्येबाट ३ रोपनी जग्गा वडा कार्यालय भवन निर्माण गर्न अनुमति दिएपनि यसअघि गौचरणमा वडा भवन बनाउने भनि गरिएको सम्झौता रद्द नभएपछि वडा भवन निर्माण कार्य रोकिएको थियो ।




चन्द्रागिरि नगरपालिका बलम्बुले २०८२ कात्तिक १८ गते राष्ट्र निर्माण कम्पनी, बुढानिलकण्ठसँग ठेक्का सम्झौता तोड्ने भन्दै सूचना जारी गरेपछि वडा कार्यालयको भवन निर्माणको लागि केही सहज भएको हो । सूचनामा वडा कार्यालय भवन निर्माणको लागि सम्झौता गरी मोबिलाइजेसन पेस्की समेत लिएको र बारम्बार मौखिक एवं लिखित ताकेता गर्दा पनि कार्यालयमा सम्पर्क राख्न नआएपछि सार्वजनिक खरिद ऐन २०६३ को तफा ५९ तथा सार्वजनिक खरिद नियमावली २०६४ को नियम १२८ र ठेक्का सम्झौताको जीसीसी क्लजमा प्रावधान भए बमोजिम ठेक्का सम्झौता किन नतोड्ने ? भन्दै १५ दिनभित्र स्पष्टिकरणसहित कार्यालयमा आउन अनुरोध गरेको छ । यदी नआएमा प्रचलित ऐन नियमकानून बमोजिम ठेक्का तोडी कालोसूचीमा राख्ने तथा नियमानुसार पेस्की असुल उपर गरी कारवाहीप्रक्रिया अघि बढाउने चेतावनी समेत दिएको छ ।
विगत ८ वर्षदेखि भाडाको घरबाट सेवा दिंदै आएको वडा कार्यालयले भवन निर्माणमा नगरपालिकाले चासो देखाएपछि अब वडा भवन बन्छकी भन्ने वडाबासीमा आशाको खुड्किलो पलाएको देखिन्छ ।



