काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं.७ लें पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर स्क्रिनिङको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शहरी स्वास्थ्य केन्द्रमा आयोजित स्वास्थ्य शिविरमा १ सय ५० जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गरेको कार्यबाहक अध्यक्ष भुवन कुमार केसीले जानकारी दिनुभयो ।
परीक्षणका क्रममा ९ जनामा पाठेघर मुखको क्यान्सरको सामान्य लक्षण देखिएको शिविरका चिकित्सकहरुले जानकारी दिनुभयो । चिकित्सकले उनीहरुलाई सामान्य उपचार पछि निको हुने पनि बताउनु भयो ।



एन.पि.एल. समाज कल्याण संस्था ललितपुरको प्राविधिक सहयोग, शहरी स्वास्थ्य केन्द्र सिमचौरको सहकार्य तथा वडा नं. ७ को आयोजनमा सम्पन्न शिविरले वडावासीमा आफ्नो स्वास्थ्यप्रति सचेत हुने मौका पाएको सेवाग्राहीले बताएका छन् ।

यस्तै, नगरपालिकाले सञ्चालन गरेको वडा वडामा चिकित्सक कार्यक्रम पनि प्रभावकारी बन्दै गएको कार्यबहाक अध्यक्ष केसीले बताउनुभयो । स्वास्थ्य केन्द्रमा डाक्टरसहितको सेवा जेठ २१ गतेदेखि विहान ८ बजेबाट ११ बजेसम्म सातामा चार दिन (आइतबार, सोमबार, बुधबार र बिहीबार) भइरहेको पनि उल्लेख गर्नुभयो । एक वडा एक डक्टरको सेवामा वडामा हरेक दिन ४० देखि ५० जनाले स्वास्थ्य परीक्षण गराएर सेवा लिइरहेको पनि जानकारी गराउनु भयो ।
चन्द्रागिरि नगरपालिका वडा नं. ७ ले वडावासीलाई समय समयमा विभिन्न प्रकारका स्वास्थ्य सम्बन्धी निःशुल्क शिविरहरुको आयोजना गर्दै आएको छ ।
शिविरको अवलोकन चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले गर्नुभएको थियो ।



